पर्पला संग

Suman Khadka

  • Reading Time 4 min.

बाहिर टन्टलापुर घाम लागिरहेको छ । घामको साथै सिरीरी हावा/बताँस पनि चलिरहेको छ । कस्तो अचम्म, अस्ति भर्खर सम्म पानी पर्दै थियो । एक्कासी मौसममा आएको बदलापले मन खिन्न भो किनकी यस्तो गर्मी भन्दा त पानी नै सहि भन्ने लाग्यो । घर अगाडि उभिएको शिरीषको रुखमा चराहरुले आफ्नै संसार बनाइरहेका थिए । आफ्नै भाकामा गीत गुनगुनाइरहेका थिए र आफ्नै सुरमा नाचिरहेका पनि थिए । मेरो मन भने ‘बदलाप’ शब्दमा आएर टक्क रोकियो । बदलाप एनकि परिवर्तन । सोच्न बाध्य बनायो । यि सब परिवर्तन किन भैरहन्छन् ? के परिवर्तन बिना केहीपनि सम्भब नभएकै हो त ? सबै कुरा परिवर्तन हुनैपर्छ र ? यि र यस्तै यस्तै प्रश्नहरुको घेराभित्र रुमलिरहेँ म । अँझ भनौँ ‘पर्पला’ले उडाईदिएको मनमा, एक्कासी प्रकितिको थप हावा जोडिएर मन उडेर झन माथि माथि पुग्यो तर भएभरको शक्ति प्रयोग गरेर मनलाई ल्यापटपको किवोर्डमा उडाउँन थालेँ, ‘पर्पला’लाई साथमा लिएर ।

दिब्यले पठाएको ‘पर्पला डट डिओसी’ फाइलभित्रको कथा, जुन शिर्ष कथा थियो पर्पलाको त्यहिबाट सुरु हुन्छ पात्रहरुमा आफुलाई पाउँने कार्य मेरो । म मात्रै होइन , ११–१२ पढ्दै गरेका, पढिसकेका, र पढ्नेवाला किशोरावस्थाका सबैले आफुलाइ कतै न कतै पात्रहरुभित्र आफूलाई पाउँनुहुनेछ । र मैले हरेक ठाउँमा पात्रभित्र आफैलाई पाएको छु पात्रहरुले घुमाइरे म घुमिरहेँ ।

‘पर्पला’ भित्र ‘म’ र  मेरो  ‘मन’

प्रेम अक्सर गर्छु भनेर गरिने क्रिया होइन र त्यसरी गरेर प्रेम हुदैनपनि । प्रेम त्यो आफैमा हुन्छ जुन कहिलेकाहिँ आफैलाई थाहा हुदैन । यहाँ पहिलो नजरमै बबिनलाई आफ्नो हृदयमा टासिसकेकि पर्पलाले आफ्ना पे्रमील सपनाहरुमा बबिनसंगै हराउँन थाल्छे । उसलाई नदेख्दाको छट्पटि, देख्दाको उत्साह कति फरक थियो पर्पलाको । मनमा बबिनलाई बसाएर हिडिरहन्छे प्रेमील संसारमा । पौडिरहन्छे प्रेमील सागरमा । म पनि पढ्दैगर्दा धेरै ठाउँमा बबिन बनेर पर्पलासंग रमाइरहन्छु ।  घरि पल्लवी संग ।

यहाँ एउटा कुरा पोख्न मन लाग्यो, पल्लवी संगको सम्बन्ध मेरो आफ्नै सम्बन्ध हो । त्यहाँ बबिनले जे भोग्यो मैलेपनि त्यहिँ भोगेको छु । त्यतिमात्र होइन, पर्पलाकि दिदी रिदिमाको ब्वाइफ्रेन्ड हकर पनि म नै हुँ कता कता । त्यो पनि मैले भोगेको कथा हो । यहाँ मेन पात्रहरु भन्दा सहायक पात्रहरुभित्र मैले आफुलाई बढी पाएको छु । हुनत यो समग्रमा पर्पला एउटी केटीको कथा हो त्यस रुपमा आफुलाई पाउने कुरै भएन तर त्यहाँ कतै नायक त कतै खल नायक भएर प्रस्तुत भएको छु भने सम्पुर्ण केटी साथिहरु नायीका बनेर प्रस्तुत भएका छन् ।

त्यसैले यो मेरो आफ्नै कथा हो र तपाईहरुलाई पनि लाग्नेछ कि यो मेरो आफ्नै कथा हो मात्र यहाँ काल्पनिक पात्रहरु छन् र ठाँउमात्र फरक, म भने वास्तविक पात्र हुँ ।

यस कथामा सुरुदेखिनै दिब्यलाई पढेर उ माथि दया लागिरह्यो । अनि सोच्थेँ के प्रेमले के मान्छेलाई साँच्चै एकोहोरो बनाइदिन्छ ? दिब्यलाई जस्तै ? पढ्दैगर्दा अन्तिममा आएर खुसी भएँ दिब्यप्रति तर उपन्यासको बिट माराइले त्यो खुसी, उत्सुकता एवं कौतुहलतामा ल्याएर छोडिदियो । त्यसपछि के हुन्छ भन्ने भावमा ।

परिवर्तन

किशोरावस्था एक परिवर्तनको उमेर । मान्छेको हरेक क्रियाकलाप लगाएत ब्यबहार पनि परिवर्तन हुन्छ यो उमेरमा । यस उपन्यासमा हरेक किसीमका परिवर्तनका रुपहरु झल्किएको छ । क्रियककलाप, ब्यबहार, रुप, मन, खानपिन, माया, घृना सबै परिवर्तनका उपज हुन् यस पुस्तक भित्रका पात्रहरु ।

एकैछिन् माया एकैछिन घृना । भेजबाट ननभेज वा ननभेजबाट भेज । यि र यस्तै यस्तै । किन परिवर्तन् हुन्छ मान्छेको मन एक्कासी ? माया र प्रेमले मान्छेलाई किन परिवर्तन गराउँछ ? के परिवर्तन विना केहि सम्भब हुदैँन ? यि र यस्तैखाले प्रश्नको घेराबाट मुक्त भइन्छ यस पुस्तक पढिसकेपछि । भलै म कहाँ छुट्न सक्छु । त्यसैले किशोरावस्था एक परिवर्तनको उमेर हो जुन उमेरमा परिवर्तन विना केहि सम्भब छैन । र यो पनि हो कि परिवर्तन भएको परिवर्तनवालालाई नै थाहा हुदैन ।

समग्रमा

‘पर्पला’ विशुद्ध टिनएजर (किशोरावस्था) को कथा हो । जसले पनि यो उपन्यास पढ्छ उसले ठान्दैन कि यहाँ भित्रका पात्रहरु केवल पात्रहरु मात्र हुन् उसले यो ठान्दछकि यसको पात्र म आफै हुँ । मैले नै यो सव भोगेको हुँ ÷ भोग्दै छु ÷ भोग्नेवाला छु । लेखकले यस पुस्तकबाट अहिलेका युवा पुस्ताको वास्तविकता झल्काएका छन् । लेखक स्वयम् पात्र बनेर लेखेको यस उपन्यास सरल छ । सरल भाषा शैलीको प्रयोग भएको छ त्यसमा लेखकको लेखनशील्प झल्किएको छ र यतिसम्म सरल तरिकाले प्रस्तुत गर्नमा सम्पादकको पनि ठूलो भुमिका रहेको देखिन्छ । कथा कुनै काल्पनिक र फिल्मी स्टाइलको लाग्दैन । लेखक पुरुष भएर पनि स्वयमं महिला बनेर एउटी किशोरीको कथा लेखेका छन् । जसले गर्दा अझ उत्सुकता बढ्छ र पढ्न सुरु गरेपछि पढेर नसक्दासम्म पाठकको मन पात्रहरुबाट बाहिर निस्कन मान्दैन । यो नै लेखकको ठूलो मेहनत अथवा भनौँ उपलब्धी हो । धैरै ठाउँमा शब्दहरु काव्यिक छन् र ति शब्दहरुले उपन्यासलाई झन सुन्दर बनाएको छ । उपन्यासको कभर डिजाईन देखि लिएर सम्पूर्ण पुस्तक सुन्दर छ ।

कथा कौतुहलता जगाउँन हो वा सिव्वैल पनि बन्छ भनेर हो अन्तिममा आएर कन्फ्युजिङ बिट मारिएको छ । यसले गर्दा पाठककरुको कौतुहलता स्वभाविक रुपमा बढ्छ । र पढ्दैगर्दा भेटेको मिस्टेक – पर्पलाले एस.एल.सी. पछि आगरा टुर गएको बेला त्यहाँ दिव्यले ‘पि’ लेखेको टाटु देखाएको भनेकि छिन् तर कथाको अन्तिमतिर दिव्यले एस.एल.सी. अघिनै टाटु मेटाउँन नमिलेर ‘आर’ थपेको बताइएको छ अर्का संस्करणमा यसलाई सम्पादन गर्न सुझाव दिन्छु ।

र अन्त्यमा, यो कथा तपाई हामी सबैको हो त्यसैले नपढेकाहरुलाई ‘पर्पला’ पढ्न अनुरोध गर्दछु, यदि तपाई यो पुस्तक पढ्न छुटाउँनुभयो भने तपाई आफ्नो किशोरावस्था बिर्सनुहुन्छ त्यसैले सकभर पुस्तक आफै किनेर पढ्नुहोला ताकि बेला–बेलामा यो पुस्तक हेरेर÷पढेर तपाई आफ्नो किशोरावस्था सम्झन सक्नुहोस् ।

‘च्याट गर्ल’ कथा संग्रह र ‘पर्पला’ उपन्यास लिएर आएका प्रिय लेखक आदरणिय दाई मिलन सङ्ग्रौलालाई अझै यस्तै पुस्तकहरु हामी पाठकसामु ल्याउन घच्घच्याउँछु । सफलताको शुभकामना प्रिय लेखक ।

 

नोटः म कुनै पुस्तक समिक्षक होइन, र यहाँ पुस्तकको समिक्षा गरेकोपनि होइन । यो त केवल  उपन्यास पढेर मनमा लागेको कुरा लेखेको मात्र  हुँ । कुनै गल्ति लेखेकोपनि हुनसक्छु त्यसको लागी अग्रिम माफि माग्छु । धन्यवाद ।