पछिल्लो समय यो शहरका रङ्गमञ्चहरू खुब व्यस्त छन् । नहुन् पनि कसरी ? दुई-दुई वर्षसम्म ठप्प भएका नाटकघरहरू एकाएक भरिभराउ भएपछि । मक्ख छन् ती सिटहरू जसले पर्खिरहेका थिए दर्शकहरू । उज्यालिएका छन् ती लाइटहरू जसले हेर्न पाएका छन् नयाँनयाँ अनुहारहरू । खुसी छन् भित्ताहरू जसले चियाउन पाएका छन् ओठको मुस्कान ।
त्यही मुस्कान ओठमा झुण्ड्याएर म पनि शहर पस्छु । खोज्न थाल्छु ती नाटकघरहरू, जहाँ देखाइरहेका छन् देशको अनुहार (केही समयपहिलेको) जस्ताको त्यस्तै ।
१. उलार (कौसी थिएटर, टेकु)
नेपालगन्जबाट प्रेमललवा यतिखेर काठमाडौँमा आएको छ । नेपालगन्जका फाँटहरूमा वसन्ती (घोडा) लाई कुदाइरहेको ऊ अहिले टेकुको एउटा घरको कोठाभित्र घोडा कुदाइरहेको छ । द्रौपदीले सोही कोठामा आफ्नो दुःख काटिरहेकी छ । कलुवा, ननकौउ पनि उनीहरू सँगै काठमाडौँमा आएका छन् । शान्तिराज भने चुनाव जितेर काठमाडौँ आएदेखि यतै छ ।
अहिले फेरि देश चुनावी माहौलमा छ । राजेन्द्रराज र शान्तिराजाबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ । प्रेमललवा, कलुवा, ननकौउ र द्रौपदी यी दुईबीचको पक्ष र विपक्षमा साथ दिइरहेका छन् । अन्ततः चुनावमा राजेन्द्रराजको हार र शान्तिराजाको जित हुन्छ । राजेन्द्रराजको हार यानेकि प्रेमललवाको हार । यसैबाट सुरु भएको प्रेमललवाको दु:खान्त कथालाई नाटकले अन्त्यसम्म नै डोर्याएको छ । शान्तिराजाको विजय जुलुसमा जानु । सोही जुलुसमा टाँगा उलार भएर वसन्ती घोडा गुमाउनु । वसन्ती मरेपछि आर्थिक सहयोग याचनाका लागि राजेन्द्रराजकहाँ पुग्नु । राजेन्द्रराजले शान्तिराजाकहाँ जान चिट्ठी लेखिदिनु । शान्तिराजाले काठमाडौँ बोलाउनु । फेरि ऋण काढेर काठमाडौँ जानु । र, रित्तो हात घर फर्कंदा घर नहुनु । यही हो प्रेमललवाको कथा । उता वादी समुदायलाई प्रतिनिधित्व गर्ने द्रौपदी आफ्नै परिवार र समाजमसँग लडिरहेकी देखिन्छे ।
तराईका सीमान्तकृत वर्गको आवाजलाई उठाएर लेखिएको नयनराज पाण्डेको बहुचर्चित उपन्यास ‘उलार’ नाट्य रूपान्तरण हुँदै छ भन्ने थाहा भयो । जन्मेको उमेरले मभन्दा जेठो थियो ‘उलार’ तर पनि हाम्रो भेट करिब १९/२० वर्षपछि मात्र भयो । ऊसँग भेट भएदेखि उसको कथाले उसैसँग बाँध्यो, नछुटाउने गरी । सायद ढिलै भेट भएर राम्रो भयो, किनकि अझ पहिले भेट हुन्थ्यो भने म उसलाई नबुझ्न सक्थेँ ।
ऊसँग भेट भएको करिब पाँच/छ वर्षपछि चे शंखरको परिकल्पना र निर्देशनमा ‘उलार’ नाटकको रूपमा मञ्चित हुँदै छ भन्ने थाहा भयो । खुसी लाग्यो । नाटक सुरु हुनु अघिल्लो दिन फेरि ‘उलार’लाई दोहोर्याएर पढेँ । मस्तिष्कमा आफैँले परिकल्पना र निर्देशन गरेर हेरेँ, मज्जा लाग्यो । तर, नाटकघरमा गएर हेर्दा भने मेरा मस्तिष्कका दृश्यहरू अलिकति भत्किए । नमज्जा लाग्यो । धेरै कुरा राम्रो बनाउँदाबनाउँदै पनि मुख्य कुराहरूमा केही चुकेको पाइयो । जस्तो कि द्रौपदीको भाषिक लवज र उनले गर्दै आइरहेको पेसामा जुन खालको परिपक्वता देखिनुपर्थ्यो, त्यो भूमिका जबर्जस्ती निभाएजस्तो मात्र देखिन्छ । केही दृश्यहरू जुन न्यारेट गरेपछि देखाउन आवश्यक थिएन, र पनि देखाइएको छ, जसले नाटकलाई लामो बनाउनबाहेक अरू रोल खेल्दैन । कहीँकतै डाइलग डेलिभरी पनि कमजोर रहेको पाइन्छ ।
नाटकमा प्रेमललवा र द्रौपदीको प्रेमलाई गज्जबले प्रस्तुत गरिएको छ । बीचबीचमा कथाको न्यारेसनले कथा बुझ्न झन् सजिलो बनाइदिएको छ । विभिन्न रूपमा प्रयोग गरिएका बिम्बहरू जस्तै: प्रतिकात्मक बिम्ब बोकेको छाता, घोडा मरेपछि चरा बनेर उडेको, नेपालगन्जदेखि काठमाडौँ यात्रामा हुँदा देखिने मुख्य शहर तथा ठाउँहरूको बिम्बात्मक प्रयोगले नाटकलाई थप ओजिलो बनाएको छ ।
२. पल्पसा क्याफे (मण्डला थिएटर, थापागाउँ)
अब कुरा गरौँ पल्पसाको । हैन क्यारे ‘पल्पसा क्याफे’को । सायद मेरो साहित्यिक पठनयात्राको सुरु नै ‘पल्पसा क्याफे’ थियो । भनिन्छ नि, पहिलो प्रेम सधैँ याद रहन्छ । त्यसैले होला, मलाई पल्पसा क्याफे याद छ । अझ भनौँ, मलाई पल्पसा याद छ ।
बाटोमा कतै पल्पसा क्याफे नामक क्याफेहरू देख्यो कि किताबकै याद आउँछ । कतै गल्लीहरूमा हिँड्दा पल्पसा भनेर कसैले बोलायो भने पनि किताबकै याद आउँछ । त्योभन्दा अलिकति बढी पल्पसाकै याद आउँछ । जो मेरो मस्तिष्कमा सदावहार एउटै मुस्कान लिएर जिस्क्याउन आइरहन्छे, छल्काउँदै गुलिया केशराशि, लर्काउँदै त्यो रुमानी कम्मर ।
नारायण वाग्लेद्वारा लिखित उपन्यास ‘पल्पसा क्याफे’ माओवादी द्वन्द्व र त्यसले पारेको असरलाई केन्द्रविन्दुमा राखेर नेपालको तत्कालीन परिस्थितिलाई उजागर गरेको छ । तर कताकता अहिलेको देशको अनुहारसँग अझै पनि मिल्न खोज्छ । र, यही अवस्थामा सिङ्गो पुस्तकलाई अझ भनौँ, सिङ्गो देशलाई नै एउटा कोठाभित्र नाटकको रूपमा रूपान्तरण गर्न ठुलो हिम्मत गरेका हुन् सुरज सुवेदीले । र, त्यसलाई प्रस्तुत तथा निर्देशन अनि मुख्य भूमिका निर्वाह गर्ने विमल सुवेदीको कार्य झन् अतुलनीय छ ।
नाटक सुरु भयो, कवि श्रवण मुकारुङको कविता ‘ल्याम्पपोस्टमुनि आगो तापिरहेछन् नानीहरू’बाट । एक्कासि गोवाको क्याफेमा भेटिन्छन् दृश्य र पल्पसा । सुरुमा त पल्पसाको भूमिका निर्वाह गर्ने सृष्टिलाई स्वीकार्नै समय लाग्यो । किनकि मेरो मानसपटलमा अरू नै कोही पल्पसा थिई । अर्कै अनुहार, अर्कै ड्रेसप, अर्कै मुस्कान, अनि अर्कै बोली । त्यस्तै दृश्यको भूमिका निर्वाह गर्ने विमललाई पनि स्वीकार्न अलि मुस्किल परिरहेको थियो । बिस्तारै अरू पात्रहरू आउन थाले । सबैलाई स्वीकार गर्दै हेरेँ । हजुरआमा, सिद्धार्थ र फुच्चीले पात्रलाई अझै बढी न्याय गरेजस्तो लाग्यो । बिस्तारै नाटकले छुन थालेको थियो । छुँदाछुँदै सकियो ।
पुस्तक पढ्दा पल्पसा र दृश्यको प्रेममार्फत युद्धका परिवेश र घटनाहरू देख्न पाइन्छ भने नाटक हेर्दा प्रेमभन्दा बढी द्वन्द्व हेर्न पाइन्छ । बेलुनको कर्कशपूर्ण आवाज, बमबारुदको गुडुङ्ग डुङ्ग, थाल फ्याँक्दा एकआपसमा ठोक्किँदाको कोलाहल र युद्धको नमीठो धुनले नाटक हेर्ने दर्शकको ध्यान युद्धतिर धकेलिन्छ ।
समग्रमा नाटक मध्यम लाग्यो । बिम्बहरूको प्रयोग र जनयुद्धका लडाकु र सेनाबीचको द्वन्द्वलाई गीतहरूमार्फत प्रस्तुत गर्नाले नाटकलाई कलात्मक बनाएको छ । ब्याकग्राउण्ड डिस्प्लेमा देखाइएको दृश्यले उपन्यासमा भएका केही ठाउँ र परिवेशलाई प्रतीत गराए पनि दृश्य स्वयम् गाउँ पुग्दा त्यहाँ पुगेको फिल हुँदैन । भाषा ठीकै भए पनि डेलिभरी मध्यम लाग्यो । नाटक हेरिरहँदा उपन्यासको झल्को आइरहन्छ । कथामा जोडिएका केही नयाँ दृश्य र डाइलगहरूले नयाँ स्वाद दिन्छन् नै । तर, त्यसलाई समेट्दा उपन्यासमा भएका छुटाउनै नहुने केही कथाहरू नसमेटिएको पाइयो ।
नाटक हेरिसकेपछि बाहिर आएर ब्रोसर पढेँ जहाँ नाट्य रूपान्तरण गरेका सुरज सुवेदीले लेखेका छन्:
‘केही पात्रहरू लेखकहरूसँग रिसाएका रहेछन् । लेखकले बाटोमा छोडिदिएको गुनासो गरे । मैले अलिक वरसम्म सँगै हिँडेर तिनलाई सुनिदिएँ । केही पात्र थाकेका रहेछन्, सास फेर्न चौतारा दिएँ । केही बोल्न नखोज्ने भएछन्, तिनको भाव बुझिदिएँ । केही ऊबेला बोल्न नखोजेकोमा पिर मान्दै बोल्ने अवसरको खोजीमा रहेछन्, तिनलाई प्रश्न सोधिदिएँ । केहीले पुरानो घाउ कोट्याउन चाहेनन्, थुमथुम्याएर छोडिदिएँ ।’
यत्ति पढिसकेपछि लाग्यो, आखिर किताबमा भएका सबै कुरा दुई घण्टामा देखाउन पनि त सकिँदैन । तर, देखाउनैपर्ने केही कुरा छुटाउन पनि त सकिँदैन । म उल्झनको बाटो लागेँ । बाटोमा हिँड्दै गर्दा सोचेँ, किताब नपढेर नाटक हेर्नेहरू थिए भने उनीहरूले यो नाटक कस्तो माने होलान् ?
३. खत (पुरानो घर, सिनामंगल)
अब जाऊँ सिनामंगलस्थित पुरानो घरमा । घरभित्र छिर्नबित्तिकै काठले बारिएको अर्को सानो घर देखिन्छ । जहाँ झुण्डिएको हुन्छ एउटा पुरानो रेडियो । बजिरहेको हुन्छ गीत- नमान लाज यसरी कि बढ्छ ढुकढुकी मेरो …। त्यही गीतमा मुग्ध भइरहेका हुन्छन् आफ्नी गर्भवती श्रीमतीसँग एक पुरुष ।
दलित युवतीसँग प्रेमविवाह गरेकै कारण गाउँ छोड्न बाध्य भएर केही टाढा जङ्गलको बीच भागमा सानो घर बनाएर बसेको छ त्यो जोडी । घरदेखि पर एउटा डाँडो छ, जहाँ हँसिया–हथौडा अङ्कित झण्डा फहराइएको देखिन्छ । त्यहाँ बसिरहेका माओवादी सेनाहरूले मुख्य बाटो कब्जा गरेका छन् । सोही बाटोहुँदै पूरा देश कब्जा गर्ने सोचमा उनीहरू छन् । र, अर्कोपट्टि पनि उस्तै डाँडो छ र जहाँ छन् शाही नेपाली सेनाहरू, जसले माओवादीको कब्जामा रहेको त्यो बाटो खुलाउने प्रयास गरिरहेका छन् ।
यहीँ दुई डाँडा र बीचमा भएको सानो घरको कथा हो ‘खत’ । अझ भनौँ, त्यो घरले देखेको र भोगेको कथा हो ‘खत’ । दशवर्षे सशस्त्र विद्रोहमा होमिएका माओवादी सेनाहरू र सोही युद्ध रोक्ने जिम्मा पाएका शाही नेपाली सेनाहरूको कथा हो ‘खत’ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक ‘खत’ पुरानो घर थिएटर, सिनामंगलमा मञ्चन भइरहेको छ । परिवर्तनको नाममा मुलुकको क्रान्ति र क्रान्तिले निम्त्याएको लडाइँले बसाएको घाउको खत सम्झाउने कथा बोकेको यस नाटकले समाजमा क्रान्तिको उत्पत्ति र युद्धले निम्त्याएको घाउलाई जस्ताको त्यस्तै उतारेको छ । बेजोड मञ्च परिकल्पना, ध्वनि संयोजन र प्रकाश परिकल्पनाले गर्दा नाटक हेर्नभन्दा नाटकको अनुभव ज्यादा गर्न पाइन्छ ।
प्रायजसो: कलेज पढ्दापढ्दै माओवादीसँग लागेर युद्धमा होमिएको होस् या हलियाबाट मुक्त हुनका लागि माओवादी भएको होस्, अन्तर्जातीय विवाह गर्दा घर छोड्नुपरेका कारण होस् या सुहागरातमा श्रीमान्को हत्या र बलात्कार सहनुपरेका कारण होस्, अथवा आफ्नो दलित साथीलाई आफ्नो घरको प्रसाद खुवाउन नपाउँदाका कारण होस्, यी यावत कारण र त्यसको मुक्तिका लागि बदलामा उत्रिएका देखिन्छन् ती माओवादी सेनाहरू ।
अर्कोतर्फ शान्तिवार्ता गर्ने र पहिले गोली नचलाउने अठोट बोकेका शाही नेपाली सेनाहरूको पक्षलाई पनि गज्जबले प्रस्तुत गरिएको छ । यसरी हेर्दा दुवै पक्षलाई सन्तुलित रूपमा प्रयोग गर्नमा निर्देशक चुकेका छैनन् ।
नाटक यतिसम्म रियालिस्टिक बनाउन प्रयास गरिएको छ कि युद्ध हुँदा विस्फोटका आवाज मात्र नभई बारुदका झिल्काहरू आफ्नै शरीरसम्म आइपुग्छन् । गोली लागेका जवानहरूको लास आफ्नै खुट्टामा आएर ढल्ने गर्छन् । खानाको रूपमा पात्रहरूले साँच्चिकै थालमा डुकुसँग भात खान्छन् । हातमुख धुन धाराको पानी प्रयोग गर्छन् । शाही नेपाली सेनाका एक कर्णेलले आफ्नो सिपाही छोरोका लागि लेखेको चिट्ठीदेखि सेनाले शङ्कास्पद व्यक्तिलाई केरकार गरेर कुटेकोसम्म साँच्चिकै आफ्नैअगाडि सुन्न र देख्न पाइन्छ ।
यतिसम्म रियल देखाउँदादेखाउँदै निर्देशक केही पक्षमा भने चुकेको देखियो । जस्तो कि, डाँडामा टावर छ भनेर देखाइरहँदा एउटा टावर नै राखिदिएको भए अझै राम्रो देखिन्थ्यो । अनि अर्को दृश्यमा घरको ढोका फोड्न लगाउँदा जुन सङ्केतको प्रयोग गरिन्छ, त्यसको सट्टा साँच्चिकै ढोका नै प्रयोग गरिएको भए अझै राम्रो देखिन्थ्यो । त्यस्तै, कमान्डरले गाउँ पुर्याएकी उसकी श्रीमती एक्कासि झुपडीमा नै किन फर्की भन्ने कुरालाई पनि देखाएको भए केही हदसम्म क्लियर भइन्थ्यो ।
नाटक सकिएपछि मञ्चभरि पात्रहरू लास बनेर ढलेका हुन्छन् । पूरै कोठा एकछिन स्तब्ध हुन्छ । शान्त हुन्छ । त्यत्तिकैमा निर्देशक भारती आउँछन् र भन्छन्, ‘हामी यहाँसम्म लासैलासमा टेकेर आएका हौँ । अब आज पनि यी लासमाथि टेक्दै जानुपर्नेछ ।’ निर्देशकको यो भनाइलाई हामीले वास्तविकतामा नै अनुभव गर्न पाइयो । किनकि नाटकहलबाट बाहिर निस्कँदा लासहरू नाघ्दै हिँड्नुपर्ने अवस्था जो बन्छ ।
अन्त्यमा, माथि उल्लेखित तीनवटै नाटकमा समाविष्ट कथाहरू एक समयकालका हुन् । हामी त्यही समयकालमा औँला चोबेर यहाँसम्म आएका छौँ । भलै रातो रगतमा नचोबिएका होलान् हाम्रा औँलाहरू, तर पनि हिँड्दा कहीँकतै अवश्य भेटिएका छन् ती पैतालाहरू जसले टेकेका छन् युद्धमैदान । जसले हिँडाएका छन् दृश्य र पल्पसालाई टाढाटाढा । जसले पर्खाएका छन् हजुरआमालाई । जसले सुमसुम्याएका छन् प्रेमललवाहरूलाई । जसले हिर्काएका छन् द्रौपदीहरूलाई । जहाँ खत बनेर प्रस्ट देखिइरहेको छ, देशको अनुहारमा ।
यो आर्टिकल शिलापत्रमा प्रकाशित भएको हो ।