सौरभको घरबाट निस्किएर सिडीबाट ओर्लँदै गर्दा मेरो खुट्टा एक्कासि झस्किए र साथसाथै मन पनि झस्कियो । आँखा भने केही पर तर सँगै टाँसिएको घरको बगैँचामा उभिरहेकी एक युवतीको पृष्ट भागमा गएर बाँधियो । एकतमासले बगैँचामा फुलिरहेका फूलहरूतिर हेरिरहेकी युवती परिचित जस्तो लाग्थ्यो । सिडीको अन्तिम खुड्किलो झर्दै गर्दा सायद मेरो जुत्ताको आवाजले उसको एकोहोरो मन झस्केको हुनुपर्छ र त्यही झस्केको मनले म भएतिर हेरी । हामीले एक असीम अविश्वासका साथ हेरिरह्यौ एकाग्र भएर । एकतमासले । मानौँ एक्कासि नचिताएको प्रतिफल पाएका छौ।
‘तिमि ?’
उसको आवाज उत्तेजनाले चम्किएको थियो र मेरो अनुहारमा एउटा मुस्कान उदाउन खोजिरहेको थियो तर जवाफमा मैले टाउको हल्लाइरहेँ सायद मेरो त्यो क्रियाकलाप बडो अश्वभावीक लागिरहेको हुदोहो उसलाई।
‘आउ न एकै छिन बसौँ।’
उसले छेवैको कोठातिर इशारा गर्दै भनी । सायद उसले मेरो असजिलोपनलाई पढेर भनी,
‘एक्लै छु, कोही पनि छैन ।’
म हासिरहें मात्र एउटा फिक्का र धमिलो हाँसो जसको कुनै रूप र रङ्ग थिएन । ढोका खोलेर भित्र छिरी।
‘आऊ न ।’
उसले यसरी बोलाइरहेकी थिई कि मानौँ भर्खरै प्रस्तावित नयाँ प्रेमीलाई स्वागत गर्दै छे ।
म भित्र पसेँ ।
‘बस न ।’
उसले ढोकाको दाहिने साइडतिरको सोफामा इशारा गर्दै भनी । म बसेँ । यति बेला सायद मेरो अनुहारमा आज्ञाकारी बालको भाव पोतिएको हुदोहो । उ पनि अगाडीपट्टिको सोफामा बसी । हाम्रा बिचमा एउटा टेबल सीमा रेखाझैँ उभिएको थियो। झट्ट हेर्दा उ साधारण लाग्थी । साधारण पहिरन । मेरा आँखाहरू उ बाट निस्किएर कोठाको चारैतिर दौडिन खोजे तर केही त्यस्तो चिज देखिएन जुन कुराले उसको परिचय झल्काउन मद्दत गर्थ्यो । कोठा एकदमै परिचयहीन थियो यतिसम्म कि न कुनै पोस्टर, न क्यालेन्डर न फोटोहरू केही पनि थिएन बाहेक ढोकाको देब्रे साइडमा एउटा बुक र्याक जसमा विभिन्न प्रकारका पुस्तकहरूले भरिएको थियो । छेउमै एउटा बेड थियो जसलाई उसको कुर्ताजस्तै चम्किलो तन्नाले ढाकिएको थियो । बेडको दक्षिणतर्फ झ्याल र पश्चिमतिर एउटा ढोका थियो र माथितिर सोफा, टेबुल, र अलि माथि कुनामा एउटा LED टिभी थियो । मानौँ अनुसन्धानको लागि खोजतलास गरेझैँ एकै हेराइमा सबैतिर नजर डुलाई सकेको थिएँ मैले । एक छिन त्यो कोठाको भयानक तनावमा हामी चुपचाप हामी बसिरह्यौ । म केही बोल्न चाहन्थेँ तर बोल्नको लागि म सँग शब्दहरू एकाएक हराएको भान भयो । मनमा एक किसिमको अस्पष्टता छाइरह्यो । कुइरोझैँ । फेरी हामी धेरै बोल्ने पनि कहाँ थियौ र ?
‘साँच्ची तिमीलाई मैले बनाएको चिया मिठो लाग्छ हगी ? बस्दै गर है एक छिनमा म बनाएर ल्याउँछु ।’
यति भनेर उ उठी ।
‘भैगो दुःख नगर । भर्खरै सौरभको घरमा कफी पिएर आएको छु । फेरी मैले चिया पिउन छोडिसकेँ ।’
मेरो पहिलो बोली निस्कियो त्यो पनि कठोर शब्दका साथ । उ आश्चर्यजनक तरिकाले हेरी सायद मेरो पछिल्लो शब्दले उसलाई अचम्मित पारेको हुनुपर्छ ।
‘यहाँ आएर केही नखाएर जान्छौ ?’
उ आश्चार्यमिश्रित स्वरमा भनी।
म केही बोल्न खोजिरहेको थिएँ बिचमै रोकेर फेरी भनी-
‘चिया छोडेको भए कफिनै बनाउँछु ।’
उसको यो भनाइलाई आग्रह भनौँ या के ? म अनविज्ञ थिएँ ।
‘हैन चिया नै बनाऊ ।’
मैले भनेँ । उ मुस्कुराई र भनी-
‘छोडेको चिजलाई पनि कहाँ भुल्न सकिन्छ र होइन ?’
यति भनेर उ किचेनमा छिरी मलाइ एउटा प्रश्नको पहाडमा एक्लै छोडेर ।
***
नयाँ कोठा, नयाँ बिहान, सायद नयाँ परिबेस र नयाँ ठाउँ भएर हुनुपर्छ रातभर खासै निद्रा परेन तर पनि मङ्सिर को चिसो समयले बिहान ओछ्यानबाट उठ्न अल्छी बनायो । ७ बजिसकेको थियो बिहानी सिरेटो झ्यालबाट छिरेर बिस्तारै मलाई जिस्काई रहेको थियो र मलाई उठ्न बाध्य बनायो । उठेर झ्यालको पर्दा सर्काउन लाग्दा अचानक मेरा आँखा पारी पट्टी अर्को घरको कौसीमा उभिएर चिया पिउँदै गरेकी एक युवतीमा गएर ठोक्किए । यसरी ठोक्किएका थिए कि आँखा झिम्काउन समेत मन लागिरहेको थिएन । कानमा इयरफोन घुसाएकी, कपाल फुक्का छोडेकी, ट्याक-सुटमा सजिएकी मानौँ भर्खरै मर्निंग वाक गएर फर्किएकी थिई ।
एक दिन सधैझै झ्यालबाट चियाएर हेर्दै गर्दा उसले पनि मतिर पुलुक्क हेरी । हत्तपत्त मैले पर्दा बन्द गरेँ । त्यतिखेर यस्तो भान भइरहेको थियो कि मानौँ कुनै सर्वाङ्ग नाङ्गो स्त्रीलाई देख्दै थिएँ र म रंगिहात पक्डिएको थिएँ उ बाट । फेरी पर्दा अलिकति सारेर हेरेको उ म भएतिरै हेरिरहेकी थिई र मैले फेरी हेर्ने आट गर्न सकिन ।
शनिवारको दिन दिउसो कौसीमा बसेर घामको राप र हातमा एउटा पुस्तक लिएर बसेको थिएँ । उ पनि घाम ताप्दै बसिरहेकी थिई । मेरो ध्यान भने किताब भन्दा उ तिर बढी थियो । उ भने भर्खरै नुहाएर कपाल सुकाउँदै थिई सायद । उसको फुक्का कपाल र उसले गरिरहेको त्रिकलापले यस्तै देखाउँथ्यो । त्यसरी हेर्दा हेर्दै एक पटक उसको र मेरो नजर एकै पटक एक अर्कामा पर्यो र नजर झुकाउन सकेनौ । एकोहोरो हेरेको हेरै भयौ आँखा झिम्किएनन् । यसरी हेरेका थियौ कि मानौँ बर्सौँ पहिले छुट्टिएका एक प्रेम जोडी भर्खरै भेट भएको थियो । त्यसरी हेर्दा अनेक भाव पोतिएको थियो मेरो अनुहारमा र त्यतिखेरै असहज परिस्थितिका बाबजुद पनि हात उचालेर हाई भन्न भ्याएँ ।त्यतिखेर मेरो हात हल्लाउनु परेको थिएँ आफै हल्लिएको थियो डर मिश्रित भावमा तर असहज रूपमै भए पनि उसले हाई को रिप्लाई गरेकी थिई । त्यो बाहेक बोल्नको लागि शब्दहरू मुक्तकण्ठमै अड्किएको थियो मात्र एक नमिठो मुस्कान बाहेक ।
‘मनुसा ?’
कुनै नारीश्वर प्रवाह भयो कतै भित्रबाट ।
‘हजुर आएँ ।’ भन्दै उ भित्र छिरी । म भने उसको नाम थाहा पाएको खुसीमा उसको नाम जप्दै बसेँ ‘मनुसा’ ।
***
सोफाबाट उठेर झ्यालको पर्दा अलिकति सर्काएँ । बाहिर मनुसाले अघि हेरिरहेका बगैँचाका फूलहरूमाथि पुतलीको छुट्टै संसार थियो । आकाशले सूर्यास्तको पहिरन पहिरन लागेको थियो । भित्र मनुसाले चिया कपमा राख्दै गरेको आवाज कानमा गुन्जियो ।
‘सुरज ?’
भित्रैबाट मनुसाले बोलाइ ।
‘हँ ?’
म झस्किएको आवाजले भने ।
‘चिया किन छोडेको तिमीले ?’
उसले मन्द मुस्कानका साथ उत्सुकता देखाउँदै सोधी ।
‘छोडेको भए अहिले तिमीलाई फेरी किन पकाउन लगाउँथेँ त ?’
मैले पनि सक्दो मुस्कानका साथ भने ।
‘अनि पिउन छोडेको छु किन भनेको त ?’
फेरी उस्तै प्रश्न उस्तै क्रिया सहित उसले खडा गरिदिई म माथि ।
‘तिमीले पकाएर खुवाएको चियाको बानी परेको थियो, तिमीले छोडे देखी खानु र नखानुमा केही फरक देखिन त्यसैले नखाएको ।’
भर्खरै देखिन थालेको मुस्कान एकै शब्दले मारिदियो दुवैको । चुपचाप चिया पिइरह्यौ दुवैले । उ हातमा चियाको कप लिएर एकटक मलाइ हेरिरहेकी थिई । मेरा आखाहरु भने उसको अनुहारमा टिक्न सकिरहेका थिएनन् । उसले कप टेबलमा राखी । एक छिन त्यसरी मौनतामै झ्याल बाहिर अस्ताउन वाकी घामका किरणहरू हेर्न थाली ।
यति कमजोर त थिएन म तर पनि मन आफैमा एक किसिमले लत्रिएको थियो । बोल्नको लागि शब्दहरू थिएनन् म सँग । त्यतिखेर मेरो मनमा झरी परिरहेको थियो र म रुझिरहेको थिएँ । त्यो झरी त्यो रुझाई अनायास थियो । एकदम अनायास ।
‘मनुसा ?’
उ केही सोचिरहेको हुदिहो सायद, एक्कासि मौनतालाई चिर्दै मैले उसलाई बोलाएँ ।
‘हँ?’
उ झस्किएर बोली ।
‘साँच्ची तिमीले मलाई त्यस दिन किन छोडेर गएकी ?’
मैले उसको र मेरो बिचमा कुनै सुरक्षाको पर्खालझैँ एउटा प्रश्न खडा गरिदिएँ । वास्तवमा उसको अगाडी म आवरणहीन बन्न चाहन्नथें ।
‘कथा धेरै लामो छ, यसबारे फेरी कुनै दिन भनुँला । बरु तिमि भन के गर्दै छौ आजभोलि ?’
उसले मेरो सुरक्षाको पर्खाललाई सहजै भत्काई आफ्नो पर्खाल ठड्याई । मलाइ लाग्यो यो प्रतिप्रश्नको सहयोगले उ म बाट छेलिन खोजिरहेकी थिई जसरी म उ बाट छेलिन खोजिरहेको थिएँ अगाडी । अचानक मलाइ के लाग्यो भने सबै कुरा पराइ भैसकेको छ टाढा टाढा सम्म केही चिन्न सकिन्न । त्यो कोठा, र कोठामा भएका सामान सबै अपरिचितको छाया ओढेर उभिएका छन् मजस्तै । अनि उ र म वास्तवमा लुकामारी खेलेर एक अर्कोलाई छल्न खोजिरहेका छौँ ।
फेरी स्तब्ध र मौन भयौँ । सधैझै उसको अगाडी उभिनुको सम्मोहनले मायाले झैँ मलाई पुनः छोपिरहेको भान भयो । उ मेरो अगाडी अनन्त लोकझैँ स्वप्न लोकसम्म फैलिएकी थिई । सायद म पनि सपनाइँ रहेको थिएँ उदास, अहम् र असजिलोपन अनि जिज्ञासा मिश्रित । र यसरी मैनबत्तीझैँ पग्लिएर एउटा चौतारो निर्माण गरिदियौँ र त्यसैमा मौनता आएर विश्राम गर्यो । एउटा लामो अन्तरालपछि यो साँझमा हामी दुई सँगै थियौँ । हामीले बोलिरहेका शब्दहरू अर्थहीन भइरहे तर पनि हामीले नबोलीकनै बोलिरह्यौ, सुनिरह्यौ ।
***
पुस महिनाको एक साँझ म चाबहिल स्तुपामा साथीहरूसँग गफिँदै बसिरहेको थिएँ त्यति बेलै मान्छेहरूको त्यो अपरिचित भिडमा एउटा परिचित अनुहार देखियो । त्यो अनुहार मनुसाको थियो । त्यतिखेर उ असाध्यै सुन्दर देखिएकी थिई । यस्तो भनौँ मलाई त्यस्तो लाग्थ्यो त्यति नै राम्री सायद जति कल्पना गर्न सकिन्थ्यो । उसले रातो सिम्रिक रङ्गको कुर्ता, कुर्ता बाहिर रातै सुइटर र हरियो चुङ्गीदार सुरुवाल लगाएकी थिई । अनि मलाइ सम्झना छ हरियो रङ्गको सल ओढेकी थिई । बाक्ला काला केशहरू काधसंम हुने गरी छाँटिएका थिए । साधारण पहिरन तर असाध्यै राम्री उ एउटी केटीसँग गफिँदै थिई ।
हेर्दा हेर्दै उनी दुई एक अर्को सँग छुट्टिएर आ-आफ्नो बाटो लाग्न थाले र म पनि साथीहरूसँग बिदाबारी मागेर हतार हतार उसलाई पछ्याउन पुगेँ | सायद साथीहरूले कल्पना सम्म गर्न सकेनन् होला कि यसलाई के भयो र गयो भनेर ।
‘मनुसा ?’
हिँड्दै गर्दा पछाडिबाट उसलाई बोलाएँ । उसले पनि पुलुक्क मतिर फर्केर हेरी र आस्चार्यमिश्रित स्वरमा भनी-
‘हाइ…’
‘हाइ म सुरज ।’
हल्का फिक्का मुस्कानका साथ मैले परिचयको हात अघि बढाएँ । उसले पनि सहजै हात अघि बढाई र भनी –
‘म…’
‘मनुसा ।’
उसले भन्नु अघि नै मैले उसको परिचय खुद दिइसकेको थिएँ । हामी दुवै हास्यौं ।
‘कसरी थाहा पायौ मेरो नाम ?’
उसले अचम्मित मान्दै सोधी र पहिलो भेटमै तिमि भनेर सम्बोधन गर्दा अझै नजिकिएको अनुभव भइरहेको थियो मलाई ।
’११ दिन अघि सुनेको, तिमीलाई कसैले बोलाइरहेको थियो त्यो नामले… ।’
‘ओ माई गड, त्यतिखेर सुनेको नाम कसरी याद राखेको अहिलेसम्म ?’
‘कुनै नाम यस्ता हुन्छन् जुन नाम एक पटक पढेपछि दिलमै छाप बस्दो रहेछ । कहिल्यै नामिटिने गरी ।’
मैले पनि सहजै मनमा लागेको कुरा भनिदिएँ । हामी हिँडिरहेका थियौँ । करिब १० मिनेटको बाटो कटेको पत्तै भएन । हामी छुट्टिएर आ-आफ्नो कोठातिर गयौँ । कोठामा पुगेर उ देखिने कौसीमा हेरेँ कति चाडै उ त्यहाँ देखा परेकी थिई । फेरी मुस्कान साटासाट भयो । फेसबुक खोले रिक़ोइस्ट आयो मनुसाको तुरुन्तै एसेप्ट गरेँ । अनि सुरुवात भयो फेसबूकामा कुरा । त्यसरी दैनिक नजिक्याउँदै गयो फेसबूकाले हामी दुई लाई एक दुरीमा रहेका विशाल मनहरूलाई ।
***
‘आज यही खाना खाएर जाऊ है ? म बनाउँछु ।’
अचानक उ आफू बसिरहेको ठाउँबाट उठी ।
‘म घरमा खाइहाल्छु नि तिमि किन …?’
उसको अनुहारमा विचित्रको भाव विकसित हुँदै गैरेको थियो । त्यो देखेर म चुप लागेँ ।
‘मलाइ खुसी लाग्नेछ, आज धेरै दिनपछि कसैसँग बसेर सँगै खाना खादै छु ।’
उसको औपचारिकता अलि बढिनै थियो । हामी जे थियौँ सायद त्यो हुन सक्दैनौँ । समय फेरियो समयसँग मन पनि फेरिएको हुनसक्छ तर पनि उसको हार्दिकता र औपचारिकताले मलाइ नतमस्तक बनायो ।
‘मनुसा ?’
मेरो मुखबाट फुत्त उसको नाम निस्कियो । भित्र गर्दागर्दै उ टक्क रोकिएर म तिर पुलुक्क हेरी र भनी –
‘हँ..?’
उस्तै भाव । उस्तै व्यवहार । उस्तै मन । र उसको अनुहारमा उस्तै चमक देखेँ जुन २ वर्ष पहिले मेरो आँखाको वरिपरि हुन्थ्यो सधैँ
। म हेरेको हेरै भएँ उसको अनुहारतिर |
‘सुरज..?’
उसको आवाजले म झस्किएँ ।
‘तिमीले केही भन्न खोज्दै थियौ ..?’
उसले सोधी ।
‘होइन केही होइन ।’
‘के म तिमीलाई मद्दत गर्न सक्छु खाना पकाउन ?’
म नजानिँदो पाराले हासे र उ पनि हाँस्दै भित्र पसी । लाग्यो उसको हाँसोको अर्थले आउन सँगै मिलेर पकाऊँ जसरी पहिले पकाउँथ्यौँ ।
***
सम्झन थालेँ विगत । हामी दुई बिस्तारै बिस्तारै नजिकिँदै गयौँ । सधैझै च्याट, फोन, भेटघाट हुन थाल्यो । उ एक्लै बस्दी रहिछ कोठा लिएर । बिहान सबेरै उठेर मर्निंग वाक जाने बानी रहेछ उसको । पछि पछि मलाइ नि लिन थाली सँगै । बाटो अँधेरो हुन्थ्यो तर उज्यालो मन लिएर सधैँ चाबहिल देखि एयरपोर्ट सम्म फन्को मारेर आउँथ्यौँ, चिया खाएर आ-आफ्नो कोठा जान्थ्यौँ ।
सधैझै बाहिरै चिया खाएर जाऊँ भन्दा उसले आफूले पकाएर खुवाउने भनेर मलाई आफ्नो कोठामा लिएर गई । मैले नकार्न सकिन । चिया बनाएर खुवाई । उसले बनाएको चिया यस्तो लाग्थ्यो सायद सबैभन्दा मिठो चियाको स्वाद पहिलो पटक लिँदै छु । र त्यसनिरै हाम्रो नयाँ दिनको सुरुवात हुन्थ्यो ।
त्यो फाल्गुन महिनाको एक साँझ । जाडो बिस्तारै कम हुँदै गैरेको थियो । मनुसा चौरमा मेरै छेउमा पल्टिरहेकी थिई । सर्वाङ्ग नाङ्गो सिरिसका रुखहरू गतिहीन भएर खडा थिए । म मौन थिएँ एक किसिमको शान्तिकालीन स्तब्धताले बाधेको थियो वातावरणलाई । बिचबिचमा मनुसाको शरीरबात प्रसारित परफ्युमको गन्धले मेरो नाक छुन आइरहेको थियो । एउटा कोमल र रहस्यमय गन्ध । साझको पातलो पछेउरा ओढेर आकाश हिँडिरहेको प्रतीत हुन्थ्यो । यस्तैमा अचानक कतैबाट हावा प्रवाहित भएर आयो । चिसो सिरेटोले उसको सल उडाउन खोज्यो । मैले रोकिदिएँ । केही पात नझरेका रुखहरू हावाको प्रभावले सर्सराउन थाले । केही अगाडी बसिरहेका चराहरू चिर्बिराइरहेका थिए । मानौँ सारा वातावरणले गीत गाइरहेको थियो । कुनै प्रेम भाव बोकेको गीत । हामी दुई त्यही गीतको लयमा मस्तसँग अभिनय गर्दै छौँ । यस्तैमा अचानक उसले सोधी-
‘तिमीलाई एउटा कुरा थाहा छ ?’ ‘छ, अँधेरो हुन लाग्यो अब घर फर्कनुपर्छ ।’ मैले यसरी भनिरहेको थिएँ कि सायद कतै जान हतारिएको थिएँ । ‘किन डर लाग्छ तिमीलाई म सँग ?’ उसका शब्दहरूमा उत्सुकताको पातलो लेपन थियो ।
‘म..’
म केही भन्न खोज्दै थिएँ बिचमै उसले रोकी र फेरी अर्को प्रश्न थपी ।
‘आज कुन दिन हो थाहा छ ?’
उत्सुकताले भरिएको आवाजले उसले सोधी ।
‘शनिवार त हो नि । किन सोधेको ?’
मैले उत्तर सहित प्रश्न थपिदिएँ । उसको उत्सुकता हराएर गयो ।
‘सुरज, आज भ्यालेन्टाइन हो तिमीलाई केही भन्नु छैन ?’
‘ए हो र ? मलाइ त केही भन्नु छैन तिमीलाई केही भन्नु छ भने भन न ।’
मैले केही थाहा नपाएझैँ अनि केही नभन्नुको अभिनय गरेर उसको प्रश्न उतिरै फर्काइदिएँ ।
उ अझै गम्भीर भई सायद केही बोल्नको लागि शब्दहरू खोज्दै थिई ।
‘ल सुन, म तिमीलाई धेरै मन पराउँछु । यति धेरै कि त्यति अरू कसैलाई मन पराउँदिन । तिमीसँग हुँदा मन अनौठो किसिमले शान्त हुन्छ । हजारौँ मान्छेको भिडमा पनि मलाइ मात्र दुई आँखाले हेरेको मन पर्छ ती आँखा तिम्रा हुन । त्यसैले तिम्रा आँखाले पनि मलाइ हेरिरहुन् जस्तो लाग्छ ।’
‘अनि?’
‘अनि तिमिसँग कुरा गरिरहन मन लाग्छ । तिमीसँग बसिरहन मन लाग्छ ।’
यति भनेर उसले आफ्ना आखाहरुलाई पश्चिमतिर अलिकति डुब्नबाकि सुर्यतर्फ़ फर्काइ ।
‘आइ लभ यु…’
गोजीबाट झन्डै टुक्रिसकेको तर नटुक्रिएको गुलाफको फूल हातमा लिएर मैले उतिर हात बढाएँ । उसले अचम्मित हुँदै ठुला ठुला आँखा बनाएर म तिर हेरी । सायद उसलाई अचम्ममा पार्ने गुलाफको फूल थियो कसरी सम्भव भयो यो सब भनेर । र मुस्कानका साथ झोलाबाट एउटा गिफ्टको प्याकेट सहित फूल दिएर भनी –
‘लभ यु टु …’
र अँगालोमा कस्सिई ।
यसरी एक नयाँ प्रेम जोडी भएर हिँड्न थाल्यौँ अनौठो परिबेस लिएर । मलाई भने उसको प्रेमले यति सम्म बहुलाएको थियो की सबै कुरा भुलेर उसैलाई मात्र सम्झीरहन्थें । बिदाको दिन हाम्रो लागि छुट्टै रौनक लिएर आएको हुन्थ्यो । कहिले कलेज छोडेर फिल्म हल र कुनै पार्कमा गएर घण्टौँ बितेको पत्तै हुँदैनथ्यो । हामीलाई त्यतिखेर यस्तो लाग्थ्यो प्रेम गर्न समय कहिले पुग्दैन । त्यसरी दिन, हप्ता, महिना बित्न लागे । हाम्रो लागि ती दिनहरू छोटा लाग्न थाले । एकदमै छोटा ।
बैशाकको कुनै दिन । म कलेजमा थिएँ । मनुसाको म्यासेज आयो । लेखिएको थियो-
‘सुरज मैले तिमीलाई इ-मेल पठाएकी छु हेर्नु ल …’
के लेखेर पठाइहोली इमेल मा …मलाइ उत्सुकताको आकाशले घेरिरहेको थियो । घरै पुगेर पढ्छु भन्ने लाग्यो । बेलुकी ६ बजे म कोठा पुगेँ र मनुसा बसेको घरतिर हेरेँ कसैलाई देखिन र ल्यापटप खोलेर इमेल चेक गरेँ । अन्य इमेल सहित मनुसको इमेल सबैभन्दा माथि थियो र खोलेर पढ्न थालेँ-
‘प्रिय सुरज !
प्रिय भनेर सम्बोधन गरेँ किनकि तिमि मेरो मनमा सधैँ प्रिय रहनेछौ । यो इमेल लेख्नुको विशेष कुरा के छ भने यस्तो कुरा जुन तिमीलाई प्रत्यक्ष फोन गरेर भन्ने हिम्मत गर्न सकेकी थिइन ती कुरा लेख्न इमेलको सहारा लिएकी हुँ । सुरज आज म तिम्रो मन दुखाउँदै छु किनकि अब देखि तिम्रो नजरमा अर्को पटक नपर्ने गरी जादैछु । कहाँ जादैछु भनेर भन्न म सक्दिन र तिमि पनि खोज्ने कष्ट नगर्नु । सुरज, मलाई माफ त पक्कै गर्ने छैनौ किनकि यो माफ गर्न लाइकको कुरै होइन । मलाई धोकेबाज त पक्कै भन्नेछौ तर मैले तिमीलाई धोका दिन खोजेकी होइन । मेरो बाध्यता यस्तै थियो जुन तिमीलाई पहिले नै भन्नुपर्ने थियो तर भन्न सकेकी थिइन र त्यही बाध्यताले आज तिमीलाई छोडेर जान बाध्य बनायो । यो भन्दा धेरै लेख्न सकिन बस् अब मलाई भुल्ने प्रयास गर्नु । अलबिदा…।
मनुसा !’
यति पढ्दा पढ्दै मेरा आँखाबाट आशुका थोपाहरू ल्यापटपको किवार्डमा झारिरहेका थिए । आशु पुछ्नका लागि हातहरू लल्याकलुलुक भएका थिए । लार्बराउदै भए पनि मोबाइल हातमा लिएर उसको नम्बरमा डायल गरेँ फोन लागेन । फेसबूकामा हेरे एकाउन्ट डीएक्टिभ गरिसकिछ । उ बसेको कोठा गएँ । कोठा बन्द थियो नजिकै अर्को कोठामा बस्ने दिदीलाई उसको बारे सोधेँ उनले भनिन –
‘खै बाबु उनको बुवा आउनुभएको थियो लिएर जानुभयो । बिचरी ! जाँदाखेरि रुन्चे अनुहार लिएर गएकी थिइन ।’
म त्यहाँबाट केही नबोलीकनै निस्किएँ । उसको साथी सर्कल कसैलाई चिनेको थिएन । घर त भन्दै थिई हेटौडा तर कता मलाई केही थाहा थिएन । उसलाई सम्पर्कमा ल्याउने कुनै कसुर वाकी राखिन तर सबैमा म असफल भएँ ।
***
खाना खादै गर्दा मैले फेरी सोधेँ –
‘के भएको थियो मनुसा त्यतिखेर जुन कारणले तिमीले मलाइ छोडेर गएकी थियौ ?’
मैले जान्न चाहन्थेँ र फेरी उही प्रश्न दोहर्याएं ।
‘भैगो छोडिदेऊ यी कुरा बरु भन खाना कस्तो लाग्यो ?’
उसले फेरी टार्न खोजी । त्यतिखेर खानको स्वाद कस्तो छ भनेर विचार गर्नुभन्दा मलाई उसको कुरा सुन्नु थियो ।
‘मिठो छ …। थाहा छ मनुसा तिमीले छोडेर गएदेखि कति पीडादायी जीवन बाचेको छु म ? के तिमीलाई अलिकति दुख र पिडा भएन ?’
मैले भनेँ ।
‘दुख र पिडा त गहना हुन जिन्दगीका ।’
उसले सहजै उत्तर दिई तर मैले बुझ्न सकेको थिएन उसको कुरा ।
‘अब जान्छु ।’
खाना खाइसकेर मैले भनेँ ।
‘अब हाम्रो भेट कहिले हुन्छ ?’
उसले म हिँड्नै लाग्दा उत्सुकताका साथ भनी ।
‘तिमीले मैले २ चोटि सोधेको प्रश्नको उत्तर जहिले दिन्छौ त्यही दिन ।’
मैले सक्दो मुस्काउँदै भनेँ ।
‘त्यसो भए तिम्रो मोबाइल नम्बर देऊ म कल गर्छु ।’
उसले भनी । मैले नम्बर दिएँ र बिदा मागेर हिडें ।
बाहिर अँधेरोले छोई सकेको थियो । गाडीको आवत जावत बिस्तारै कम हुँदै थियो । अब पर्खनु थियो उसको फोन अनि थाहा पाउनु थियो उसको कथा । यसरी हिँड्दै गर्दा उसले अघि बोलेका शब्दहरू-‘दुख र पिडा त गहना हुन् जिन्दगीका..’ मेरो अन्तस्करणमा गुन्जिरहे एउटा गीतको भाका बनेर ।
यो कथाको अर्को पार्ट पढ्न यहाँ क्लिक गर्नुहोस् ।