अनुजा

Suman Khadka

  • Reading Time 8 min.

पुस महिनाको एक साँझ, चिसो एकदमै बढिरहेको थियो । सूर्य आफ्नो गन्तव्यको नजिकै थियो । सायद त्यसैले होला घामका पहेँला रेसाहरू पूर्वतिर सोझिएका थिए । म ती रेसाहरूलाई आफ्नो आँखामा कैद गर्दै नजिकिदै थिएँ  भने घाम म भन्दा पर पर भाग्दै थियो । अन्ततः घामको पहेंलो डल्लो थानकोटको डाँडाबाट विलीन भयो म भने नयाँ बानेश्वर पुगेँ ।

बाटोभरि मान्छेहरुको भिड । सडकभरि गाडीहरुको भिड । मान्छे र गाडी पनि एक-अर्कासँग ठोकिन्छन् कि झैँ गरेर सबै दौडिरहेका थिए, आ-आफ्नो गन्तव्यमा । गाडीको आवाज एकदमै गुन्जाइमान थियो । आ-आफ्नो दिशातिर ब्यग्रल्ती दौडिरहेका ती गाडी देख्दा कुनै रेसिङ्ग  कम्पिटिसन हुँदै छ जस्तो लाग्थ्यो किनकि त्यो जाम, ट्राफिकको सिटीको आवाज अनि हातको इसाराबाट कुद्ने ती गाडीहरू साँच्चै कम्पिटिसनमा भाग लिएको जस्तो प्रतीत हुन्थ्यो । 

सडक वारि पारि मान्छेहरुको भिड पनि उस्तै थियो जस्तो- सडकमा गाडीहरूको छ । मानौँ त्यो कम्पिटिसन हेर्न आएका दर्शकहरू । हैन क्यारे ! यी मान्छेहरू पनि म जस्तै आफ्नो गन्तव्यतिर पाइला फर्काउँदै गरेका हुन सक्छन् । हैन भने कतै … छ्या! म पनि के सोचिरहेको होला ?

नयाँ बानेश्वर चोकको एक मात्र जेब्रा क्रस, जसलाई कुल्चन तयार भएर बसेका म जस्तै कयौँ मान्छेहरुको भिड सडक वारि-पारि टन्न थियो । बिचमा गाडीहरू दौडिरहेका थिए । वारि-पारि जाने मान्छेको भिड एकदमै बाक्लियो । ट्राफिकको सिटीले गाडी रोकिए र मान्छे दौडिन लागे । म पनि सोही भिडभित्र पसेँ र पारि जाँदै थिएँ एक्कासि पारि बाट आउँदै गरेकी एउटी युवतीसँग ठोक्किन पुगेँ। 

‘आँखा छैनन् ?’ उसले झर्किँदै भनी । 

‘सरि …’ म पछाडि फर्किएर भन्दै थिएँ । एक्कासी मेरो बोली रोकियो । आँखा भने उसको अनुहारमा ठोक्किए । मन …?

‘तपाईँ ?’ उसले अचम्मित हुँदै सोधी ।

‘तिमी ?’ मैले फिस्स मुस्कुराउँदै भनेँ । मन अनौठो किसिमले शान्त भयो। 

‘बिच बाटोमै के…’ कोही मान्छे हामी रोकिएको देखेर गाली गर्दै हामी सँगै ठोकिँदै वारि पारि गरिरहेका थिए । हामी भने बिच सडकमै एक अर्कालाई हेरेर उभिरहेका थियौँ ।

‘मैले तपाईँलाई फेसबुकमा म्यासेज पठाएकी छु रिप्लाई गर्नु है, अहिले अलि हतार छ जान्छु ।’

यति भनेर उ सरासर अगाडी बढी र शंखमूल जाने बाटोतिर विलीन भई, म भने उ गएतिर हेरेर उभिरहें । ट्राफिकको सिटीको आवाजले झस्किएँ । फिस्स ओठमा हाँसो झुन्ड्याएर आफ्नो बाटोतिर तेर्सिएँ ।

यो कस्तो संयोग ? कम्तीमा केही समय अगाडी नै म पारि पुगेको भए अथवा उ नै वारि आइपुगेको भए एकै छिन कुरा हुन त पाउँथ्यो । धत्! एक अर्कालाई देख्नु बाहेक अरू कुरै हुन पाएन । फेरी सोचेँ, हाम्रो भेट हुनु नै थियो र त यहाँ भयो । यदि म नै अगाडी पुगेको भए अथवा उ नै अगाडी आइपुगेको भए उ सँग भेट यसरी नहुन पनि सक्थ्यो । आफैसँग बोलिरहें । मनभरिका उदासी किरणहरू  अस्ताए । भर्खरै अस्ताएको घाम जस्तै ।

***

नेपाल यातायातको महिला आरक्षण सिट, जहाँ अपरिचित युवतीको परिचित अनुहार ढोकाबाट उक्लन बित्तिकै देखियो । कलेज ड्रेसमा सजिएकी उसलाई देखेको लगातार ४ पटक भैसकेको थियो । सायद त्यो भन्दा धेरै पनि हुनसक्छ जो मलाई याद भएन । तर दिनहुँ देखिरहँदा उसलाई चिन्न गाह्रो भएन । सधैँ उभिरहेकी हुन्थी म जस्तै । आज भने बस्न पाएकी रहिछे । म गाडी माथि उक्लिएँ ।

‘दाइ पछाडि जानुहोस्, सिट खालि छ ।’ कन्डक्टरको अनुरोध स्वीकार गरेर म पछाडि गएर बसेँ । हिजोका दिनहरूमा बस्न नपाएर रिस उठ्थ्यो आज भने बस्न पाएर रिस उठ्यो । सोचेँ, सानो गाडी नै आउनुपर्ने नि । 

अर्को दिन त्यसरी नै भेट भयो । संयोग भनौँ या के, उ बसेकै सिट खालि थियो । महिला आरक्षण सिट हो कि भनेर माथि हेरेँ, होइन रहेछ । उसको छेवैमा बसेँ । कानमा हेडसेट झुन्ड्याएर गीत सुन्दै सफर गर्नुको पनि मज्जा छुट्टै लाग्थ्यो तर आज गीत अफ गरेँ अनि हेडसेट भने झुन्ड्याईरहें । कतै उसले बोलाईहाली भने मैले सुन्न सजिलो होस् भनेर । 

कोटेश्वरमा धेरै लामो जाम भयो । हुन त अरु दिन नहुने होइन तर अरु दिनको तुलनामा मलाई आजको  जाम मन परिरहेको थियो । सायद उसलाई थिएन । उ आत्तिएको महसुस मैले गरिरहेको थिएँ । 

‘कति बज्यो ?’  उसले म तिर हेर्दै सोधी ।

‘११ बज्न लाग्यो ।’ मैले घडी हेरेर जवाफ दिएँ । 

‘ठ्याक्कै कति मिनेट भयो ?’ उसलाई मेरो जवाफ चित्त बुझेनछ । 

‘दश बाउन्न भयो ।’ अहिले भने हातमा भएको मोबाइलको स्क्रिनमा चलिरहेको समय हेरेर जवाफ दिएँ ।

हुन त मलाइ पनि ढिला भैसकेको थियो | क्लास सुरु भैसकेको थियो १०:४० मै तर आत्तिएको भने पटक्कै थिइनँ । किनकि उ म सँगै थिई । यस्तो लाग्थ्यो आज जाम नखुलोस् ।

‘कुन कलेज ?’ उसले लगाएको कोटको अगाडी CCRC लेखेको देख्दा देख्दै पनि मैले सोधिहालेँ पछि ग्लानि भयो। 

‘CCRC’ उसले कुनै प्रतिक्रिया नजनाई उत्तर दिई ।

‘ए, अनि कति मा पढ्दै ? म उ सँग बोल्न चाहन्थेँ । उ सँग नजिकिन चाहन्थेँ । त्यसैले उ सँग बोल्ने बहाना खोज्दै प्रश्न सोच्दै बोल्न प्रयाश गरिरहेको थिएँ ।

‘११ मा ।’ उसले सहजै जवाफ दिई । बिना प्रतिप्रश्न ।

उसलाई ढिला भएको छ भन्ने उसको व्यवहारले देखाइरहेको थियो त्यसैले लाग्यो अब पनि म केही बोलेँ भने उसलाई रिस उठ्ने छ । उ म सँग रिसाउने छे । त्यसैले म चुपचाप रहेँ । कन्डक्टर भाँडा उठाउदैं आयो उसले पैसा सँगै आइडी पनि दिई त्यसै बखत मैले उसको नाम थाहा पाएँ अनुजा भण्डारी। 

त्यसरी नै प्रत्येक दिन हाम्रो भेट नेपाल यातायातमै हुन थाल्यो । संयोग पनि कस्तो भने म थापागाउँमा गाडी चढ्ने उ चाहिँ बिजुली बजार । पछि पछि म पनि अलि अगाडी नै आएर बिजुली बजार जान्थेँ । उ सँगै गाडी चढ्न थालेँ । उसको र मेरो समय एउटै भयो । कहिले सिट पाए उ बस्थी । मेरो ब्याग भने जबर्जस्ति बोकी दिन्थी । कहिले सिट नपाउँदा दुवै जना उभिएर जान्थ्यौ । यसैमा आनन्दित हुन्थ्यौ । दिनहरू ढल्दै गए । यति छोटो समयमा उ मसँग एकदमै नजिक भइसकेकी थिई । यतिसम्म कि स्टेसनमा गाडी पर्खने भन्दा मलाई पर्खेर बस्ने देखि थापागाउँसम्म हिड्दै आउने सम्म । 

‘मोबाइल बोक्दिनौ ?’ यसरी एक दिन गाडी पर्खिरहेको बेला सोधेँ । 

‘कलेज मा लिन दिँदैन, बोकेर के गर्नु ?’ उसले असहज रूपमा सहज जवाफ दिई । मैले उसको कुरा महसुस गर्न सक्थेँ किनकि म पनि ती दिनहरू पार गरेर आएको हुँ । 

‘फेसबुक चलाउँदिनौ ?’ नम्बर माग्ने आइडिया असफल भएपछि फेसबुकको सहारा लिएँ तर त्यो पनि एक शब्दमै असफल भयो ।

‘किन नि ?’ अहिलेको समयमा फेसबुक चलाउँदिन भन्ने मान्छेहरू लाई सोधिने प्रश्न मैले उ तिर सोझ्याएँ ।

‘यतिकै, मन नै लाग्दैन ।’ मन नलागी नलागी उसले जवाफ दिई ।

‘अनि कहाँ लाग्छ नि मन ?’ जिस्किदै सोधेँ । 

‘कतै लाग्दैन ।’ उसले  मुस्कुराउँदै भनी । 

गाडी आयो । सधैझै भरिभराउ ।

‘यस्तो हालतमा यात्रा गर्दा कहिलेकहीँ त बाइक किनौँ झैँ लाग्छ ।’ मैले भनेँ । 

‘उसो भए त हाम्रो यात्रा टुङ्गिने भयो ।’ उसले म तिर हेर्दै भनी । 

‘तिमी सँग यात्रा गर्छु र त, बाइकभन्दा नेपाल यातायात नै ठिक छ भनेर रोकिन्छु ।’ उसको दुःखी हुनै लागेको चेहरालाई खुसी बनाउन प्रयास गर्छु । 

‘हैन किन्नु, मेरो लागि आफ्नो खुसी किन बरबाद गर्नुहुन्छ ?’ उसले मलीन स्वरमा भनी । 

‘अहिले त म यसैमा खुसी छु ।’ मैले सक्दो खुसी बनाउन प्रयास गरेँ । 

‘है …?’

उसलाई यो कुराले पिरोलेछ सायद । हामी मौन रह्यौँ । यस्तो लाग्यो सबैतिर सुनसान छ । हामी दुवै जना असीम अविश्वासको दायरा भित्र उभिएका छौँ । एक-अर्काको सम्मोहनप्रति लाचार भइरहेका छौँ ।

मेरो चौथो सेमिस्टारको जाँच आउन लागेको थियो । कलेज नलाग्ने भएपछि म त्यो रुटमा कम्तीमा १ महिना हिँड्नुपर्ने थिएन । त्यसैले उसलाई यो सब भनौँला भनेको दिन उ अनुपस्थित भई । सायद उ उपस्थित हुँदा म अनुपस्थित भएँ । बिचमा केही दिन पहिलेकै समयमा म त्यहाँ पुग्थेँ तर उसलाई कहिले देखिनं । उ सँग सम्पर्कमा आउने त्यो बाहेक कुनै बाटो म सँग थिएन । सोच्थेँ, उसले पनि मलाई पर्खी होला जसरी पहिले पर्खन्थी । अनि निराश हुँदै नेपाल यातायात भित्रको  भिडभाडमा हराउथी होला । 

***

घर पुगेर हतार हतार ल्यापटप अन गरेर फेसबुक खोलेँ । अनि सम्झिएँ उसले त फेसबुक नै चलाउँदिन अनि कसरी मलाई म्यासेज गरी ? उसको नाम सर्च गरेँ भेटिएन । उ देखि रिस उठ्यो । लाग्यो, झुट बोलेर गई । म्यासेज रिक्वेस्ट मा क्लिक गरेँ मेरा आँखा सुरुमै एउटा म्यासेज मा परे जहाँ ‘सुसी’ बाट म्यासेज आएको रहेछ । म्यासेज खोलेँ र पढ्न थालेँ –

‘हेलो, कहाँ हराउनु भयो ? मैले तपाइलाई एक हप्तासम्म सधैँ पर्खिएँ तर तपाईँ नआउँदा एक्लै बस चढेर जानु सिबाय विकल्प केही थिएन । त्यसरी पर्खँदा सधैँ क्लास मा लेट पुग्थेँ र गाली खाइन्थ्यो अनि पर्खन पनि छोडेँ ।’

‘प्लिज म्यासेज रिप्लाई त गर्नुहोस् ।’

‘बाइक किन्नु भयो ?’

‘हेलो’

यतिका म्यासेज आएको रहेछ मैले कैले पनि रिक्वेस्ट हेर्ने चेष्टा गरिनँ । सम्झँदा ग्लानि भएर आयो । उसको प्रोफाइल खोलेँ फ्रेन्ड रिक्वेस्ट पनि आएको रहेछ म नचिनेको मान्छेको रिक्वेस्ट एसेप्ट गर्दैनथेँ र त्यसको असर उसलाई पर्‍यो सायद । उसले आफ्नै नामबाट रिक्वेस्ट पाठको भए यो सब हुने थिएन आखिर किन उसले आफ्नो नाम र फोटो देखाउन नचाहेकी हो ? अचम्मित भएँ । 

‘हाइ अनु, सरि फर इभ्रीथिंग । मेरो एक्जाम चलिरहेको छ, यो कुरा तिमीलाई भन्ने कुनै ठाउँ भेटिन जसको कारण तिमीलाई दुःखी बनाएँ । म पनि तिमीसँग भेट हुन्छ कि भनेर थापागाउँ, बिजुली बजार नपुगेको होइन तर तिमीलाई भेटाउन सकिनँ । अनि तिम्रो नाम फेसबुक मा सर्च पनि गरेँ तर तिमीलाई भेटिनँ । अर्कै नाम र फोटो राखेर रिक्वेस्ट पठाएकी रहेछौ अपरिचित लागेर एसेप्ट गरिनँ । सरि अगेन ।’ म्यासेज टाइप गरेर पठाइदिए । 

‘इट्स ओके ।’ आज भेट भयो धेरै खुसी लाग्यो ।’ उसले स्माइली इमो सहित म्यासेज पठाई । 

‘मलाई पनि धेरै खुसी लाग्यो । मलाई त अब हाम्रो भेट नेपाल यातायातमै हुन्छ होला भन्ने लागेको थियो तर आज यसरी भयो मन हलुङ्गो भएको छ ।’ मैले खुसीको भाव व्यक्त गरेँ तर उसलाई कस्तो फिल भइरहेको छ भन्ने कुरा जान्न असफल रहेँ ।

‘ए…अनि एक्जाम कैले सकिन्छ ?’ उसले सोधी ।

‘भोलि अन्तिम छ ।’ मैले जवाफ दिएँ । 

‘ल अहिले पढ्नुहोस् जाँच राम्रो गर्नुस् अनि भेटौंला हुन्न ?’

‘ओके स्यौर । कति बजे ? कहाँ ?’ मैले भनेँ । 

‘तपाइको एक्जाम कति बजे सकिन्छ ?’ उसले सोधी । 

‘३ बजे । म साढे तिन बजे बालकुमारी आइपुग्छु ।’ मैले भने ।

‘ओके तपाईँ ४ बजे तिर मेरो कलेज अगाडीको क्याफेमा पर्खनु म आउँछु ।’

‘ओके स्योर ।’

‘अल दी वेस्ट ।’ उसको शुभकामना प्रिय लाग्यो यति सम्म कि अब त नपढेरै पनि एक्जाम राम्रो हुन्छ जस्तो ।

‘थ्यांक यु ।’ हार्ट इमोजी सहित मैले रिप्लाई दिएँ ।

उताबाट स्माइली इमो मात्र रिप्लाई आयो र अफलाइन भयो ।

केही बिहान यस्ता हुन्छन् जहाँ हिँड्दा आफ्ना पाइलाका पदचाप पनि प्रेमिल जोडीको ढुकढुकी जस्तो लाग्छन् । सायद ती पाइलाहरू उभ्याउने सडकलाई पनि लाग्न सक्छ कि, यी केवल पाइला मात्र होइनन यी त प्रेम जोडी पनि हुन् जो एक-अर्का बिना चल्न सक्दैनन् । 

हिउँदका ति दिनहरूमा उत्तरतिर बाट पसेको सिरसिरे हावाको बेगले अग्ला रुखहरू हल्लिरहेका थिए । शिरीषका नाङ्गा हाँगाहरु काँपिरहेका थिएँ । निलो आकाशको छातीमा घाम हाँसिरहेको थियो । यता उता २/४ चिलहरू वेग मारिरहेका थिए । म र अनुजा भने एक-अर्का प्रति सम्मोहित भएर हिँडिरहेका थियौँ । सडकमा गुडिरहेका गाडीहरूको ध्वनि पनि उसको सम्मोहनले मिठो लाग्न थाल्यो । सिरिरि चलिरहेको बतासले उसको कपालसंग जिस्किरहेको थियो जो उसलाई पटक्कै मन परिरहेको थिएन । 

फेरी हाम्रो पहिलेजस्तै नेपाल यातायातको यात्रा सुरु भयो । उ प्रति मेरो प्रेम पनि बढ्दै गयो । सधैजसो भइरहने भेटघाट अनि आ-आफ्ना मनपसंद कुराहरू साटासाटले एक-अर्कालाई झन् नजिक बनाइरहेको थियो ।

माघ महिनाको अन्तिम तीरको एक साँझ, म चौरमा बसेर अनुजलाई पर्खिरहेको थिएँ । चिसो कम हुँदै गएको आभास भइरहेको थियो । शिरीषका रुखहरूले आफ्ना हाँगाभरि हरिया पातहरू जोड्दै थिए । आकाशले आफ्नो घुम्टो फुकाएर सुन्दर देखिएको थियो । मेरा आँखा एक्कासि परबाट आउँदै गरेको एउटी स्त्रीको पृष्टभागमा गएर अड्कियो । मलाई ठम्याउन गाह्रो भएन किनकि उ अरू कोही नभएर अनुजा थिई । सधैँ कलेज ड्रेसमा देखिएकी उ, आज फरक पहिरनका साथ मेरो नजिक थिई । उ आज असाध्यै राम्री देखिएकी थिई । यस्तो भनौँ मलाई त्यस्तो लाग्थ्यो । त्यति नै राम्री सायद जति कल्पना गर्न सकिन्छ । उसले रातो सिम्रिक रङ्ग को कुर्ता र बाहिर कफी कलर को सुइटर अनि हरियो रङ्गको  सुरुवाल र हरियो रङ्गको सल ओढेकी थिई । बाक्ला, काला केशहरू काँधसम्म छुने गरी छाँटिएका थिए । उ मेरो नजिकै आइ । मेरा आँखा भने उ बाहेक अन्त जानै मानेनन् । उ आएर मेरो छेवैमा बसी । मन धड्किरहेको थियो । बोल्नलाई शब्दहरू एकाएक हराएको आभास भयो । मौनता आफ्नो समग्र सघनताका साथ आएर हाम्रो बिचमा फ्रिज भयो । सबै कुराहरू बडो अबास्ताबिक लाग्न थाल्यो ।  यहाँसम्म कि, हामीलाई आफ्नै उपस्थिति पनि भ्रमात्मक लाग्यो । 

बेलाबेलामा सिरसिर हावा आएर उसको सुन्दर केसहरूसँग जिस्किर जान्थ्यो । उ भने  सम्मोहितझैँ पारि पट्टि आकासिएका शिरीषका रुखपंतिहरु बिच हराइरहेकी थिई । अचानक म तिर फर्केर स्वप्निल आवाजमा उसले सोधी-

‘यो बाक्लिँदै गइरहेको साँझ, यो चौर अनि यी अग्ला अग्ला रुखहरू, तल फैलिएको निर्बाध एकान्त तपाइलाई कस्तो लाग्छ ?’

‘यस्तो लाग्छ, म यो मौनताको सङ्गीतसँग एकालय भएको छु र यी सबसँग एकीकृत हुदैछु ।’  मैले भनेँ । 

१ घण्टा भन्दा बढी भइसकेको थियो । सूर्यले डाँडा काटिसकेको थियो । पश्चिमतिर देखिने त्यो पहेँलो क्षितिज हेर्दै हामी त्यहाँबाट उठ्यौँ । र आ-आफ्नो गन्तव्य तिर फर्कियौँ छुट्टिँदै गर्दा उसले भनी-

‘सुन्नु न ?..’

‘अ भन न ’ मैले भनेँ ।

‘बाइकको लागि अपुग पैसा म थापिदिन्छु नि है ?’