
‘आज त एक्लै छु यार ।’
फेसबुक मा गफिँदै गर्दा मैले उनीलाई भनेँ ।
‘खै र साथी?’
उत्सुक हुँदै उनले सोधिन्।
‘गुड फ्राइडे मनाउन साथीकोमा गएको छन् ।’
एक्लो फिल मिक्स गरेर उनीलाई भनेँ ।
‘तिमी पनि जानु पर्छ त ।’
‘मलाई त्यस्तो कुरा मन पर्दैन ।’
‘के कुरा होर त्यस्तो?’
अचम्म मान्दै उनीले सोधिन् ।
‘खासै केही होइन, अलिअलि दारु पार्टी र यस्तै… ।’
हाँस्दै मैले भनेँ ।
‘तिमी पिउँदैनौ र?’
मेरा हरेक उत्तरमा उनीले झन् उत्सुकताले भरिएका प्रश्नहरू सोध्थिन् ।
‘नाइँ नाइँ । मलाई मन पर्दैन त्यस्तो कुरा ।’
सोझो पारामा मैले भनेँ ।
‘गुड । सधैँ यस्तै रहनु है ?’
‘यस्तो भन्या कस्तो ?’
नबुझे झैँ गरी मैले फेरी सोधेँ ।
‘पछि भन्छु । अहिले खाना खान गएँ ल बाइ ।’
‘ए सुन न निद्रा नलागे तिमीलाई कल गर्छु ल ?’
हतार हतार गर्दै सोधेँ । तर रिप्लाई आएन ।
पढेर बसिरहेको थिएँ, ठिक १० बजे मोबाइलमा म्यासेज आयो । खोलेर हेर्दा उनीकै रहेछ । लेखिएको थियो ‘हस् ।’
‘अब गरम?’
हतार हतार रिप्लाई दिएँ ।
‘ओके ।’
उताबाट यस्तो म्यासेज आएपछि रिप्लाई को साटो फोनको घण्टी बजाएँ ।
रिसिभ भयो ।
‘हेलो…’
‘हाइ…’
जिन्दगीमा पहिलो पटक त्यसरी कोही केटी सँग बोल्दै थिएँ त्यो पनि रातिमा । फोन कन्टिन्यु भइरहँदा मोबाइल तातियो । लाउड स्पिकर बनाएर सिरानीमा राखेर बोलिरहेँ । झन् सँगै भएको आभास भयो । उनीले पनि साथ दिइरहिन् । यस्तो प्रेमिल साथ जून उनीले फेर्ने श्वास पनि प्रिय लाग्थ्यो जहाँ घरमा कसैले सुन्लान् कि भन्ने डरले बोलेको मन्द बोली मिसिएको थियो ।
…
‘४ बजिसक्यो अझै निद्रा लागेको छैन?’
श्वासमा मुस्कान मिसाएर उनीले भनिन् ।
‘यस्तो लागिरहेको छ कि तिमी सँग बोल्दा निद्रा त के भोक पनि लाग्दैन ।’
मैले हाँस्दै भनेँ ।
‘पागल !’
तिमीले पनि फिस्स मुस्कान फ्याँकेर भन्यौ ।
‘ल अब सुतौँ है, पछि बोलौँला ।’
हुन्छ भन्दै प्रेमिल नीद निदाएँ ।
बिहान ९ बजे साथी आइसकेपछि बिउँझिएँ । फेसबुक खोलेर हेरेँ । उनको म्यासेज आएको रहेछ ।
‘गुड मर्निंग! , निद्रा पुगेन ?’
उनको त्यो म्यासेज ले निद्रा पुर्याइदियो । म पुरै बिउँझिएँ । उठेँ । र रिप्लाई दिएँ ।
‘गुड मर्निंग!, तिम्रो म्यासेज पढे पछि निद्रा नि पुग्यो ।’
‘हा हा ओके, अब फ्रेस हौ । खाना पकाऊ, खाऊ त्यसपछि कुरा गरौँला ।’
अनलाइन नै रहिछिन्, तुरुन्तै रिप्लाई आयो ।
हुन्छ भनेपछि उनी गइन् तर म भने उनको ‘पछि’ मा आशाका किरण देख्न थालेँ । मनमनै खुसीले गद्गद भएँ । मन र मस्तिष्कको अन्तर्द्वन्द्व पछि लेख्दै काट्दै गरेको म्यासेज सेन्ट भयो । जहाँ लेखिएको थियो,
‘डु यु लभ मि?’
…
१० बज्यो, ११ बज्यो, नुहाएँ, खाना पकाए, खाएँ प्रत्येक मिनेट र सेकेन्डको गन्ती मुटुको धड्कनले गरिरहेको थियो । कुर्दा कुर्दै १२ बज्नै लाग्दा उनीको रिप्लाई भन्दा पहिले भूकम्प आयो र धड्कन झन् बढाएर गयो ।
क्रमसः