हिँडेर मेटिएको थकान

Suman Khadka

  • Reading Time 10 min.

लामो समय भइसकेको थियो खुट्टाहरूले देशको नयाँ माटो टेक्न नपाएको । आँखाले नयाँ भूगोल देख्न नपाएको । उसो त सानातिना हाइक नहिँडेको हैन तर पनि जसरी हिँड्न मन थियो त्यसरी हिँड्न पाइएको थिएन । कहिले कोरोना ले त कहिले आफ्नै कारणले समय मिलेको थिएन । साथीहरूसंग दसैँ तिहारको बिचमा कतै लामो ट्रेक हिँड्ने सल्लाह भयो । त्यो बिचमा म आफै हिँड्न नसक्ने भएपछि घुम्न जाने योजना तिहार पछिलाई सार्यौँ । भनिन्छ नि, पर्खाइको फल मिठो हुन्छ । हो, हाम्रो लागि यो धेरै पर्खाइ पछिको मिठो यात्रा हो । एउटा सुन्दर यात्रा ‘लाङटाङ यात्रा ।’ 

No description available.
बाँयाबाट साथीहरु क्रमसः दीपक, बिकाश, आदर्श र सुमन(म)

यात्राको पहिलो दिन बिहानै ५ बजे मैतीदेवी आदर्शको घरबाट तय गर्यौं । सँगै बसपार्क जान सजिलो हुन्छ भनेर साथीहरू आदर्श, दीपक, विकास र म सबै आदर्शको घरमा बसेका थियौँ । हिड्नलाइ तयार भएपछि ट्याक्सी बोलायौँ । मैतीदेवीबाट निस्कँदा ५:५० भैसकेको थियो ट्याक्सी ज्ञानेश्वर नपुग्दै पन्चर भयो । बिहानै ग्यारेज खुलेका थिएनन् । ड्राइभरले अर्को ट्याक्सी बोलाएर हामीलाई सजिलो बनाइदिए । माछा पोखरी पुग्दा ६:२५ भैसकेको थियो ।  काठमाडौँबाट स्याप्रुबेसी जाने पहिलो  गाडी छुटिसकेको थियो । केही समय अगाडी गएका साथीहरूले सुमोमा जाँदा छिटै पुगिन्छ भनेका थिए । त्यही अनुसार  हामी सुमोको टिकेट काउन्टर गयौँ । ३ ओटा मात्र टिकट बाँकी भएका कारण अन्ततः  साढे ७ बजेको बसको  टिकट लिएर बस्यौं । बस छुट्नलाइ करिब एक घण्टा बाँकी थियो । त्यो बिचको समयमा चिया नास्ता खाँदै यात्राको योजनाहरु बनायौं । 

टिकेटमा लेखिएको समयभन्दा करिब १५ मिनेट ढिलो गरी बस माछा पोखरीबाट छुट्यो र सँगै छुटे लाङटाङ ट्रेकको योजना सफल हुने नहुने शङ्का उपशङ्काहरू । 

टाउकोको माथि तेर्सिएको सामान राख्ने डिकी हाम्रो ट्रेकिंग ब्यागभन्दा सानो भयो र अन्ततः मन मैलो बनाउँदै ब्यागलाई पछाडी रहेको डिकीको धुलोमाथी राख्यौं । थानकोट काटेर गल्छी हुँदै बस साढे १० बजेतिर  नुवाकोटको विदुर पुग्यो । बस रोकियो । सहचालकको ‘खाना खान, दिशा पिसाब गर्न ओर्लनुहोस् है’ आवाजले निदाएका यात्रीहरु पनि बिउझिए । हामी पनि ओर्लेर खाना खान बस्यौँ । सार्बजनिक यातायातमा लामो यात्रा गर्दा बिरलै ठाउँ मिठो खानेकुरा खान पाइन्छ । त्यो बिरलै ठाउँमध्य एक ठाउँ थियो विदुरको त्यो होटल, जहाँ मिठो खाना खाइयो । खाना खाइसके पश्चात हामी बसमा चढ्यौं । बस रसुवा प्रवेश गर्‍यो ।  उकालो सुरु भयो अनि मेरो निद्रा ओरालो लाग्यो ।

उकालो सकेर बाटो तेस्रो लाग्यो । बिस्तारै हिमालबाट उडेको चिसो हावाले हामीलाई स्वागत गर्न सुरु गरिरहेको थियो । म निदाएको बबुरोलाई बिउँझाएर भन्दै थियो ‘ए उठ न, हेर त पारि हिमालका टाकुराहरू तलाईनै हेरिरहेका छन् ।’ बसको झ्यालबाट देख्न सकिने सुन्दर पहाड अनि हिमाल हेरिरह्यौँ । साथै हेरिरहे मोबाइलका आँखाहरूले । बाटोबाट पारि  देखिने सानातिना झरनाले हामीलाई झन लोभ्याउँदै लगेको थियो । बस आफ्नै रफ्तारमा गुडिरह्यो र उडिरह्यो मन लाङटाङका हिम चुचुराहरूसम्म ।

बसबाट खिचिएको रसुवाको एउटा गाउँ

हेर्दा हेर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश द्वार पनि आइपुग्यो । सम्पूर्ण यात्रीहरुलाई चेकजाँच गरेर मात्र बस अगाडी बढ्न दिईदो रहेछ । बसबाट ओर्लियौं । धुलोले नचिनिने भएका ब्याग प्यासेजबाट झिकेर चेक गर्नको लागी लाइन बस्यौँ । चेक गरेर सकिएपछि प्रतिव्यक्ति सय रूपैयाको प्रवेश पास लिएर फेरी  बसमा पस्यौँ । बसले आफ्नै रफ्तार समायो । रसुवाको सदरमुकाम धुन्चे हुँदै ठिक ३ बजेतिर हामी स्याप्रुबेसी पुग्यौँ । त्यहाँ पुगेसँगै  हाम्रो बसको सफर पनि टुङ्गियो । 

संयोगले लाङटाङमा पहिले पनि पुगिसक्नुभएको नवीन दाइ र हामी एउटै बसमा थियौँ । पढ्न र घुम्न पाए सबै पुग्ने उहाँको लाङटाङ यात्रा चौथो पटक रहेछ । उहाँले  गर्दा अलिकति भए पनि बाटो र ठाउको बारेमा थप जानकारी र हिड्नलाइ  हौसला मिल्यो । स्याप्रुबेसी बाट हिँडेको आधा घण्टामा बाटोकै छेउमा एउटा झरना देखिन्छ । त्यसको नामकरण नवीन दाइले बडो रोचक तरिकाले दिनुभयो । पहिले झरनासँगै सेल्फी खिच्नुभयो अनि भन्नुभयो, अगाडी बाहुबली पछाडि झरना- बाहुबली झरना । सबै हाँस्दै अगाडी बढ्यौँ । करिब ३ घण्टाको हिँडाई पश्चात् हामी ब्याम्बो पुग्यौँ । पहिलो दिनको थकानलाई त्यहीँ विश्राम दियौँ । 

अघिल्लो दिनको योजना अनुसार हामी बिहान ५:३० बजे नै उठिसकेका थियौँ । हामी उठ्दा बस्ती पुरै सुनसान थियो सिवाय छेवैमा बगिरहेको लाङटाङ खोला । बिहानको नित्यकर्म सकेर हिड्नलाई तयार भएपछी करिब  ६:१५ तिर त्यहाँबाट अघि बढ्यौं । 

जति जति पाइलाहरू अगाडी बढे उति उति जङ्गल पछाडि सर्दै गयो । जति जति खोलाको आवाज घट्दै गयो उति उति झरनाको आवाज बढ्दै गयो । कतै खच्चडको टुङ टुङ त कतै आँखा झिम्काउन नपाइ भाग्ने मिर्गहरू ।  कतै उकालो चढ्दै गरेका यात्रीहरू त कतै ओरालो झर्दै गरेका स्थानीयहरू ।  उचाइ बढ्दै गयो । बढ्दै गए पहाडमा भर्खरै खस्लानझैँ गरेर टासिएका ढुङ्गाका आकारहरु । जति जति यी कुराहरू आँखाभरि कैद हुँदै गए उति उति लाङटाङ परिवेश फिल हुँदै गयो ।

बाटोमा कार्सेन दाइ भेटिए । घोडा लिएर पाहुना लिनलाई  क्याञ्जिङ्ग देखि ब्याम्बो सम्म झर्दै गरेका । अपरिचित तर परिचित व्यवहार । तिब्बेतियन लवजमा नेपाली बोल्ने दाइ रमाइला थिए । एकै छिन रोकिएर  कुरा गरेपछि  ‘भाइहरूलाई क्याञ्जिङ्गमा मेरै होटेलमा रुम बुक गर्दिसके है मैले ।’ भन्दै तलतिर झरे हामी भने माथितिर उक्लियौँ । 

करिब ३ घण्टाको हिँडाई पश्चात् हामी लामा होटेल पुग्यौँ । त्यहाँ नपुग्दा सम्म एउटै होटेल होला भन्ने हाम्रो सोचलाई उल्टो पारिदियो । वरिपरी जंगल बिचमा सानो तर चिटिक्कको बस्ति । जसको नाम नै लामा होटेल रहेछ । भोक लागिसकेको थियो । बिहानको नास्तामा प्राय बन्ने तिब्बतीयन रोटी र स्थानीय  इस्कुसको तरकारी खाएर हिड्यौं । 

बाटो वरिपरि साना-साना जस्ताले छाएका झुपडीबाट बुढा भएका बा-आमा हरु ‘बाबु चौरीको छुर्पी, दुध खाएर जानुहोस्‘ भन्दै बोलाउथे । एक ठाउँ पसेर छुर्पी किन्यौँ । फर्कदै गर्दा सुटुक्क ‘बाबु गाँजा पनि लिने हो?’ भन्दै थिए । हामी लिदिनौं बा भन्दै अगाडी बढ्यौं । स्थानीय चौरीको दुध, छुर्पी र घिउ जतिकै गाँजापनि राम्रो ब्यापार हुने हामीले आकलन गर्यौँ ।  

साढे १२ बजे तिर घोडा तबेला पुग्यौँ । ३/४ ओटा जति घर । जहाँबाट थान्सेप, लाङटाङ, मिण्डुम, सिण्डुम सम्म देखिन्थ्यो । लाङटाङ रि, लाङटाङ लिरुङ्ग, र सेर्गोरी पिक हिमाल पनि मजाले देख्न सकिन्थ्यो । सम्पूर्ण भ्याली देखिने घोडा तबेला पुग्दा कार्सेन दाई पनि आफ्ना पाहुनालाइ लिएर पुगिसकेका थिए । आफ्ना पाहुनालाई खाना खुवाउँदै गरेका दाइले हामीलाई पनि त्यही खाना खाएर अगाडी बढ्न सल्लाह दिए । खासै भोक नलागेकाले थान्सेप पुगेर खाने योजनाका साथ हामी अगाडी बढ्यौँ । 

देख्दा नजिकै देखिने ठाउँहरू हिँड्दा भने घण्टौँ लागिरहेको थियो । धन्न बाटो सहज भएकाले सजिलै हिँड्न सकिन्थ्यो । हिमालको काखमुनि सुस्ताउँदै, पहाडबाट झरेका पानीका रङ्गहरू हेर्दै, घोडा र खच्चडका पाइलाका डोबहरू मेट्दै, हामी निरन्तर हिडिरह्यौ । हिडीरह्यौ कफीको एक सुर्को र चकलेटको एक टुक्रा चपाउँदै । 

No description available.
थान्सेपबाट देखिएको लाङ्गटाङ्ग भ्याली

करिब ४५ मिनेटको हिँडाई पश्चात् थान्सेप पुग्यौं । घोडा तबेला जतिकै सानो बस्ति तर सुनसान । सुरुकै होटेलमा गएर झोला र खुट्टा बिसायौँ । कोठाहरु सफा गरिरहेकी होटेलकि दिदीसंग खाना अर्डर गर्यौं । खाना खाइसकेपछि हिमाललाई सिरानी बनाएर एक छिन आराम गर्‍यौँ । साढे २ बजे पछि हाम्रो यात्रालाई फेरी निरन्तरता दियौँ । आउंदै गर्नु है भाईहरु भन्दै कार्सेन दाई अगाडी लागे । उनलाई पछ्याउँदै हामी हिडिरह्यौ ।  

लाङटाङ बस्ती प्रवेश गर्नु पूर्व भयङ्कर अनि उजाडिएको गिर्खा चट्टान र बालुवा टेक्दै जाँदा मन भारी  भयो ।  २०७२ सालमा आएको भूकम्पले गर्दा बस्तीमाथिको हिमालमा ल्याण्डस्लाइड भएर पुरै बस्ती नै बगाएको रहेछ । त्यसको असरले त्यहाँ भएका सयौं  जिन्दगी एक चिहान भएका रहेछन् ।  एकै छिन सुस्ताएर  सबै दृश्य नियाल्यौँ मन कटक्क पार्दै अगाडी बढ्यौँ ।  

लाङटाङ पुग्यौँ । ढुङ्गा छापिएको बाटोको दुई छेउमा रङ्गीचङ्गी होटेल, झुप्प बस्ती । बेकरी आइटम बास्ना आउने गल्ली, जसले अडिएर लामो सास तान्न बाध्य बनाउने । अहिले नै हिडलान् झैँ गरेर उभिएका ट्रेकिङ पसल हरू । चिटिक्क परेका क्याफेमा रङ्गिन अक्षरहरू । हस्तकलाको सामान फुलेको बरन्डा । ‘आऊ, आज यतै बस’ भनेजस्तो लाग्ने घर अगाडी उभिएका क्याफेको कुर्सीहरू । नजिकै खोला बगिरहेको । आँखाले देख्न सक्ने जति वरिपरी हिमालमा हिउँको थुप्रो । हिउँ पग्लिएर देखिएका काला ढुङ्गामाथिबाट हिउँकै रङ्ग बगिरहेको ।  जसले झन् सुन्दरता पैदा गरेको थियो । यस्तो लागिरहेको थियो कि म कुनै अर्कै दुनियाँमा प्रवेश गरिरहेको छु । एक दिन सम्म हिँड्दा फोन चार्ज गर्न नपाएका हामीले त्यहाँ बिजुलीका तारहरू देखिरहेका थियौ । फोन सम्पर्क गर्नलाई नेटवर्क नभेटेका हामीले फोर जी नेटवर्क पाएका थियौँ । 

सिण्डुम प्रवेश गर्न बित्तिकै घाम अस्तायो । हिमालहरु सेता बाट पहेंलो भए । यस्तो लाग्यो केही कुरा त रहेछ जसले  रङ्ग फेर्दा झन् सुन्दर देखिने रहेछ ।

५ बजिसकेको थियो । थकान भने खुट्टा हुँदै शरीरसम्म पुगिसकेको थियो । कतिखेर क्याञ्जिङ्ग पुगिएला र आनन्दको श्वास फेर्न पाइएला भन्ने आशा मनभरि नजागेको हैन । विकासको पहिलो ट्रेक थियो त्यसैले पनि होला अनुहारमा अलिकति डर देखिरहेको थियो । खोलाको सङ्गीत र जुनको उज्यालोले हामीलाई हिँड्न मद्दत गर्‍यो । ७ बजेतिर हुनुपर्छ केही दुरी पर बत्तीको उज्यालो देखियो । मन अलिकति चंग भयो । तर त्यो उज्यालो जति हिँड्यो उति पर पर देखिन्थ्यो । यस्तो लागिरहेको थियो कि उडिरहेको जुनकिरीलाई समाउन दौडिरहेका छौँ । अन्ततः जुनकिरीलाई छुनै आटेका थियौँ कार्सेंन दाइ र भाउजू लाइट बोकेर हामीलाई नै खोज्न आइरहेका भेटिए । अधेरो बाटोमा हामी सबैको अनुहार उज्यालियो । दाई भाउजूको पछि लागेर होटेल पुग्यौँ । कार्सेन दाइले कोठा देखाइदिए । हामी गएर  झोला बिसायौँ । चिसो एकदमै धेरै थियो त्यसैले फ्रेस भएर आगो ताप्न बस्यौँ । हामी बाहेक  एक जोडी बिदेसी मात्र पाहुना रहेछन त्यो दिन । उनीहरु पनि आगो ताप्दै उनो खेलिरहेका थिए । 

खाना तयार भएको जानकारी भाउजूले भान्साबाट दिईन । भोक लागिसकेको थियो त्यसैले हामी खानलाई तयार भयौँ । खाना खाइसके पछि दाई भाउजूसंग एकछिन  कुराकानी भयो । छोरा छोरीलाई काठमाडौँमा पढाईरहेका आफुहरु दुईजना मात्र क्याञ्जिङ्गमा  होटल संचालन गरेर बसेका रहेछन । अर्को वर्षसम्म ढलान वाला घर बनाउने योजना बुनेका कार्सेन दाइ भन्दै थिए ‘क्याञ्जिङ्ग पनि अब सहर भैसक्यो भाई ।’ हुन पनि क्यान्जिङमा गुजमुज्ज परेका ठूला-ठूला कंक्रिटका घरहरूले ढाकिएको छ, बाटो पनि सहरको भित्री गल्लीमा जस्तो सानो न सानो । समुन्द्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको सधैंजसो चिसो मौसम हुने क्यान्जिङमा ढलान घर बनाउन प्रयोग हुने सामान काठमाडौँबाट हेलिकप्टरमा लगिने रहेछ, जसमा प्रयोग हुने सिमेन्टको मूल्य बोराको ५  हजारसम्म पर्ने दाईले बताए । उनले थप्दै गए ‘यहाँ एउटा घर बनाए बराबर काठमाडौँमा ३ वटा घर बनाउन सकिन्छ । सामान ढुवानी खर्च मात्र १ करोड माथि पर्छ ।’ कुरा गर्दा गर्दै हाम्रो थकानलाइ बुझेर होला सायद, भाईहरु आराम गर्नुहोस् भन्दै उनीहरु सुत्न गए । हामीपनि सुत्यौँ ।   

कार्सेन दाइँसँग को सल्लाह अनुसार हामी बिहानै ५ बजे छेर्गोरी पिकको लागि निस्कने गरी उठ्यौँ तर निस्कँदा ६ बजिसकेको थियो । अँधेरो लगभग हटिसकेको थियो । सेता हिमालको प्रतिबिम्वले अँधेरो हुन दिएको थिएन । केहि समय हिडेपछी एउटा खोला आउँछ । त्यसलाई पार गर्दै हामी उकालो लाग्यौँ । अलिकति माथि पुगेका के थियौँ, सूर्योदय भयो । हिमालको शिरमा घामको पहिलो झुल्को परेको देख्दा एक पटक त आफ्नै शिर पनि त्यहिसम्म पुर्याइदिउकि झैँ लाग्यो । त्यति सुन्दर दृश्य देख्दा हामी सबै खुसीले करायौँ । माथि हिमाल तल क्याञ्जिङ्ग बस्ती अलि तल खोला बगेको । आहा! त्यो दृश्य, क्या मनमोहक थियो, म शब्दमा उतार्न सक्दिनँ । क्यामेरा निकालेर त्यो सुन्दरतालाई फ्रेमभित्र कैद गरेँ । र हामी पुग्ने शिर हेर्दै फेरी उकालो लाग्यौँ । 

No description available.

लाङटाङ घुम्न जाने मान्छेहरू मध्ये उकालो हिँड्न सक्ने र अग्लो ठाउँमा पुग्दा बिरामी नहुने सीमित मान्छेहरू मात्र छेर्गोरी पिक पुग्ने रहेछन् । बाँकी  प्राय क्यान्जिंग रे, अनि क्याञ्जिङ्ग भ्याली वरिपरि घुमेर फर्कने रहेछन् । सजिलो र छोटो दुरीमा भएकाले प्रायको गन्तव्य क्यान्जिंग रे नै हुँदो रहेछ । तर हाम्रो गन्तव्य भने धेरै लामो थियो र सुन्दर पनि । 

साना साना बुट्यानले भरिएको र गिर्खा चट्टानले बनेका नाङ्गा बन्जर पहाडहरू उक्लँदै गयौँ । हिउँ सुकेका खैरा पहाडहरूलाई हिउँ भरिएको हिमालले गिज्याएजस्तो देखिन्थ्यो । माटो जम्मै बगेर ढुङ्गा अनि गिर्खा चट्टानहरूको लेपन ती पहाडहरूमा थियो । 

पारि पारि सम्म चौँरी गाइहरू चरिरहेका हुन्थे । घाम डुल्दै तल क्याञ्जिङ्ग सम्म पुगिसकेको थियो । उचाइ बढेसङै हावाको गति पनि बढिरहेको थियो । पानी पिउँदै, ब्यागमा राखेको खानेकुरा खाँदै पाइलाहरू अगाडी बढाई रह्यौँ । त्यो उकालोमा ब्याग पनि भारी लागिरहेको थिएन सायद केही कुरा पाउने साहस पछिको विश्वासमा, ढुङ्गा पनि कपास जस्तै हलुका भइदिने रहेछ ।

करिब साढे ४ घण्टा हिँडिसकेपछि खुट्टाले हिउँमा टेक्न पाए । लट्ठीको सहायताले त्यो हिउँको बाटोबाट सेर्गोरीको टुप्पोमा पुग्न आधा घण्टा भन्दा बढी लाग्यो । जति माथि उक्लिँदै गयौँ उति  हावाको गति पनि उक्लिरहेको थियो । तर चारैतिर देखिने हिमालहरूले सबै कुरालाई भुलाइदियो । यतिसम्म कि ५ घण्टाको ठाडो उकालो हिँडेको थकान पनि ५ सेकेण्ड मै हरायो । समुद्री सतहदेखि ५ हजार मिटर अग्लो ठाउँमा अवस्थित छेर्गोरी पिक साँच्चिकै अलौकिक सुन्दरताले भरिएको थियो । त्यहाँबाट नजिकै याला पिक, लाङटाङ रि, लाङटाङ लिरुङ्ग, नयाँ खंज, लाङ्गशिशा रि पिक, लगाएत समुद्री सतहदेखि ७ हजार ३  सय मिटर उचाईसम्मका हिमशृंखलाहरु वरिपरि थिए । 

आकाश सफा थियो । रापिलो घाम लागेको थियो जसले गर्दा हामीलाई सोचे जति चिसो हुनबाट जोगाइरहेको थियो । हावामा उभिँदै उड्दै गर्ने हिमाली कागहरू । हावाको गतिमा लहराइरहेका दर्चोग र लाङ्ग्टाहरु । ति सबै हेर्न लायक थिए । हामी पुगेको केही समय पश्चात् एक हुल विदेशीहरु पनि सोही ठाउँ पुगे । २० मिनेट जति बसेर फोटो भिडियो खिची  उनीहरू फर्किए । हामी भने यतिकै त्यो ठाउँ छोडेर फर्कन मन गरेनौँ ।

समुद्री सतह देखि ५ हजार मिटरको उचाइ हामी सबैको पहिलो नै थियो । त्यसैले पनि होला आदर्श र विकासलाई केही गाह्रो भएको सङ्केत पश्चात् उनीहरू फर्किए । म र दीपक केही समय त्यतै अलमलियौँ । फोटो र भिडियो खिच्यौँ । २ बजिसकेको थियो, खानेकुरा र पानी रित्तिसकेको थियो । आधा घण्टापछि  हामी ओरालो झर्यौं । ५ घण्टा लगाएर चढेको उकालो, हामीलाई ओरालो झर्न करिब २ घण्टा लाग्यो । बेलुका साढे ४ बजे तिर होटेल पुग्यौँ । दीपक र म पुग्नुभन्दा अलिकति अगाडी आदर्श र विकास पुगेर आराम गरिरहेका थिए । हामी पुगेपछि सँगै खाना खायौँ । साँझ परिसकेको थियो । त्यसैले त्यो रात पनि हामीले क्याञ्जिङ्गमै बिताउने निधो गर्यौं । 

आगो ताप्दै कार्सेन दाई भाउजूसंग रमाइलो गफ गर्दै त्यो साँझ बितायौँ । स्थानीय खानेकुरा र तरकारीहरुमा केहि ठाउँमा टनेल लगाएर साग उत्पादन गर्ने र मौसम अनुसारको  इस्कुसबाहेक अन्य कुराहरुको उत्पादन खासै नहुने रहेछ । आफ्नो नापीवाला जमीनमा खासै केहि उत्पादन नहुने र निकुञ्जको जमीन प्रयोग गर्दा उम्रन नपाई जोतेर नास गरिदिने गरेको गुनासो कार्सेन दाइ पोख्दै थिए । सुख दु:खका लामो कुराकानी भयो । अबेर भैसकेको थियो । हामी बिहानै निस्कने जानकारी गरायौँ । दाईले २ रात सुतेको पैसा लिएनन् । आफ्नो नजिकको मान्छे सरह स्नेह दिन भने कत्ति कमि गरेनन् चाहे त्यो बिना सम्पर्क अधेरोमा लाइट बोकेर हामीलाई  खोज्न जाँदा होस् या खाना र बस्नमा होस् ।    

No description available.
कार्सेन दाईसंग उनकै होटेलमा

भोलिपल्ट बिहानै घामभन्दा पहिले नै उठेर हामीले फेरी भेट्ने बाचाका साथ क्याञ्जिङ्ग गोम्पालाइ बिदाइका हातहरू हल्लायौँ । घोडा तबेला पुग्दा बल्ल हामीलाई घामले भेटायो । एकै छिन घामसँग सुस्ताएर हामी सङ-संगै ओरालो झर्यौं । अनि उकालो चढ्ने यात्रीहरू भेटिन थाले र सँगै ‘नमस्ते’ र ‘अझै कति लाग्छ?’ भनेर सोध्ने प्रश्नहरू बढ्दै गए । म सँग यो प्रश्नको एउटै जवाफ हुन्थ्यो ‘गन्तव्यलाइ हेरेर हैन यात्रालाई महसुस गरेर हिड्नुहोस्, तपाईले खोज्नुभएको ठाउँ तपाइकै आँखा वरिपरि छ ।’

भिडियोमा हेर्नुहोस्